राष्ट्रिय बीमा कम्पनीकी मुख्य व्यवस्थापक सिर्जना पन्तद्वारा बीमापोष्टको समाचारको खण्डन
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीकी मुख्य व्यवस्थापक डा. सिर्जना पन्तले शुक्रबार इमेलमार्फत बीमापोष्टमा प्रकाशित समाचारको खण्डन गरेकी छिन् । समाचारमा आरोप लगाइएको व्यक्तिलाई आफ्नो भई स्पष्ट पार्ने यथाशिघ्र उचित स्थान दिने सम्पादकीय नीति अन्तर्गत प्राप्त खण्डन जस्ताको जस्तै प्रकाशित गरी समाचारप्रतिको बीमापोष्टको तर्फबाट समेत आफ्नो भनाई समावेश गरिएको छ ।
श्री बीमा पोष्ट, पुतलीसडक, काठमाण्डौ, नेपाल
मितिः २०८१।०९।१२ गते
विषयः मिति २०८१ पौष ११ गते बीमा पोष्टमा प्रकाशित समाचार प्रतिको ध्यानाकर्षण सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा मिति २०८१ पौष ११ गते त्यस अनलाइन पोष्टबाट ‘राष्ट्रिय बीमा कम्पनीमा डेपुटी सिइयो सुवास कोइराला र पुनर्बीमा प्रमुख सिर्जना पन्तको त्रुटीले एक अर्व बढीको नोक्सान’ भन्दै कम्पनीले नियमित गर्ने नितान्त आन्तरिक कामकारवाहीलाई व्यक्तिगत रुपमा चरित्र हत्या गर्ने गरी आधिकारिक स्रोत समेत नखुलाई अनर्गल र तथ्यहिन सुचनाहरु प्रचारित गरिएकोमा बीमापोष्ट जस्तो राष्ट्रियस्तरको गरिमामय अनलाइन मिडिया हाउसको हेलचेक्राइपूर्ण समाचार प्रसारणप्रति मेरो घोर आपत्ति रहेको छ ।
उच्च प्रतिस्पर्धात्मक बजारमा प्रतिपर्धी क्षमतामा नेपाल सरकारको स्वामित्व प्राप्त एकमात्र नीर्जिवन बीमा कम्पनीको कामकारवाहीलाई लिएर मिथ्यपुर्ण सुचना प्रचार प्रसार गरिदाँ कम्पनीकै अस्तित्वमा समेत संसय पैदा गर्ने र प्रतिस्पर्धी क्षमता समेत क्षीण गर्ने प्रवृत्तिका समाचारहरु प्रसारण नगरिदिई मिडिया क्षेत्रको आफ्नो शाख कायम राखिदिनु अनुरोध गर्दछु । अन्यथा राष्ट्रको मुलधारको मिडियाको यस प्रकारको निरन्तरको हर्कतप्रति एक जिम्मेवार कर्मचारी तथा नेपाली नागरिकको हैसियतले समेत कानूनी उपचारमा अघि बढ्न वाध्य नपारी दिनुहुन समेत जानकारी गराइन्छ ।
डा. सृजना पन्त
मुख्य व्यवस्थापक
राष्ट्रिय बीमा कम्पनी लिमिटेड
रामशाहपथ, काठमाण्डौ ।
बोधार्थ श्री प्रेश काउन्शील, सिनामंगल, काठमाण्डौ ।
बीमापोष्टको भनाईः समाचार सत्य हो । बीमापोष्टले कसैको चरित्र हत्या गर्न समाचार प्रकाशित गरेको होइन । व्यक्तिगत कामको नभई नेपाल सरकारकै कम्पनीलाई क्षति पुग्ने गएको घटनासँग सम्बन्धित समाचार प्रकाशित गरिएको हो । सुशासनको पक्षमा प्रकाशित समाचारले चरित्र हत्या वा मान हानि हुनसक्दैन ।