सिद्धार्थ बैंकको बेइमानी: कर्जा तिर्न जाँदा करौडौंको सम्पत्ति गायब, प्रबन्धक र ऋण अधिकृत प्रहरी फन्दामा
काठमाडौँ । सिद्धार्थ बैंक, जसको नारा हो ‘सम्बन्ध सधैंभरीलाई’ । तर, बैंक सम्बन्ध प्रगाढ बनाउनुभन्दा पनि ग्राहकको सम्पती कसरी कुमल्याउ भन्ने तिर बढी ध्यान दिने गरेको तथ्य बाहिर आएको छ । बैंकले कर्जा असुलीको नाममा ग्राहकहरूको सम्पत्ति हिनामिना गरेको र त्यसलाई लिलामीमा बेचेर अरूसँग पास गरेको घटनाले ग्राहकको विश्वासमा ठूलो आघात पुर्याएको छ । यस घटनाले बैंकको व्यापारिक ब्यवहार र नीतिमा गम्भीर सवाल खडा गरेको छ ।
जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंकको शाखामा सुरु भएको विवाद प्रहरीसम्म पुगेको छ । एक जना ऋणीले बैंकको लिलामी गरिएको धितोको जग्गा फिर्ता पाउन चाहेका थिए । ऋणीले आफ्नो ऋण चुक्ता गर्न तयार रहेका थिए, तर बैंकले उनको सम्पत्ति बिना जानकारी लिलामी गरेर अन्यको नाममा पास गरिदिएको हो । यस घटनामा संलग्न भएको आरोपमा बैंकका शाखा प्रबन्धक अर्ण बलम्पाकी र ऋण अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जनकपुरधामका व्यापारी दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रुपैयाँको व्यापार ऋण र महेन्द्रनगरस्थित शाखाबाट ४५ लाख रुपैयाँको व्यक्तिगत ऋण लिएका थिए । उनले आफ्नो ऋणको ब्याज समयमै तिर्दै आएका थिए । कर्जाको सावाँ ब्याज चुक्ता गर्न भनेर बैंकमा पुग्दा आफ्नो जग्गा विक्रीमा राखिएको उनले थाहा पाए ।
बैंकका प्रबन्धक अर्ण र ऋण अधिकृतको मिलेमतोमा उनका धितो राखिएको जग्गा लिलामी गरेर अरूको नाममा पास गरिदिएको आरोप छ । करोडौं मूल्य पर्न सम्पत्ति बैंकले ९० लाख रुपैयाँमा लिलाम गरेको छ ।
रायका अनुसार, उनले ऋण चुक्ता गर्नका लागि दुई सातासम्म बैंकमा दौडधूप गरे पनि बैंकका अधिकारीहरूले उनलाई लगातार धम्की दिएका थिए। सादा कागजमा देखाएको हिसाबले ऋण चुक्ता गर्न भनिएको र त्यसपछि, लिलामीको धम्की दिइएको थियो । उनी कर्जा चुक्ता तयार रहेको अबस्थामा पनि बैंक सेटिङमा करौडौंको सम्पत्ति लिलाम गरेको हो ।
सो पश्चात रायले जनकपुरधाम उद्योग वाणिज्य संघसँग सहयोग मागेका थिए । संघका पदाधिकारीहरूले बैंकमा पुगेर प्रदर्शन गरे । प्रदर्शनपछि प्रहरीले बैंकका प्रबन्धक अर्ण बलम्पाकी र ऋण अधिकृतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो ।
उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार, बैंकले एक दिनको भित्र कर्जा भुक्तानी गरेमा जग्गा फिर्ता दिने प्रतिबद्धता गरेको थियो । तर, पछि बैंकले आनाकानी गर्न थालेको र जब मालपोत कार्यालयमा गएर बुझ्दा जग्गा अरूको नाममा पास भएको जानकारी पाएको भण्डारीले बताए ।
यस घटनासँगै, जनकपुर उपमहानगरपालिका–८ का ऋणी सुध्रिकादेवी कुर्मीले पनि सिद्धार्थ बैंकका शाखा प्रबन्धक बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन्। उनले बैंकले आफ्नो सम्पत्ति बिना जानकारी लिलामी गरेर बेचिदिएको बताएकी हुन् । प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सिद्धार्थ बैंकको यो व्यवहारले बैंकिङ क्षेत्रको विश्वसनीयतामा ठूलो प्रश्न उठाएको छ । बैंकका प्रबन्धक र अधिकारीहरूले ग्राहकको सम्पत्ति बेच्ने र ऋण असुलीको नाममा ठगी गर्ने कामले बैंकको सामाजिक जिम्मेवारी र व्यावसायिक आस्थामा गम्भीर असर पार्ने संभावना बढाएको छ । बैंकका अधिकारीहरूले ग्राहकका सम्पत्तिमा छेडछाड गरेर कर्जा असुलीको नाममा ठगी गर्न थालेको यो घटना बैंकिङ उद्योगमा ठूलो चिन्ताको विषय बनिसकेको छ ।
प्रहरीका अनुसार, ‘एक जना ऋणीले ऋण तिर्छु भन्दै बैंक जानु भएको रहेछ । तर, उहाँको जग्गा लिलामीको सूचना निकालिएको रहेछ । बैंकको यो बदमासीपछि स्थानीयको चर्को बिरोध भयो । कुनै दुर्घटना नहोस् भनेर बैंकका मुख्य दुइ व्यक्ति नियन्त्रणमा लिएका छौं ।’