तीनकुनेमा राज्यले लुटेको भन्ने मेयर बालेन आरोपको यथार्थ के हो ? ११औं सार्क शिखर सम्मेलन–तीनकुने काण्डको नालिबेली
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुने क्षेत्रको जग्गा लुटिएको भन्दै सरकारको कडा आलोचना गरेका छन्। शुक्रबार कोटेश्वर महोत्सवमा सम्बोधन गर्दै उनले विगत ५० वर्षदेखि स्थानीय बासिन्दाको मुआब्जा नपाएको र सरकारको चुप्पीले समस्या समाधानमा अवरोध पुर्याएको बताए।
उनले भने, पचासौं वर्षदेखि यहाँका व्यक्तिहरू मुआब्जा पाउन सकेका छैनन्। चाहे जुनसुकै सरकार आए पनि, यो मुद्दा कुनै समाधानमा पुग्न सकेको छैन। अहिले दुईतिहाइ बहुमतको सरकार छ, तर अझै केही भएको छैन। प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र स्थानीय सरकारका प्रमुख सदस्यहरू सबै सरकारमै छन्, तर मुआब्जा विवादको समाधान प्राप्त भएको छैन।
बालेनले राज्यलाई यो विवादित जग्गा लुटेको ठहर गर्दै भने, हाम्रो त उमेरभन्दा बढी समय बितिसकेको छ। यो स्थानको जग्गा लुटिएको छ।”
तीनकुने जग्गा विवादको उत्पत्ति
सन् २००२ मा ११औं सार्क सम्मेलनको तयारीका क्रममा तीनकुने र माइतिघर क्षेत्रका सयौं घर भत्काइएका थिए। काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख केशब स्थापितको नेतृत्वमा काठमाडौंलाई सिंगार्न र सम्मेलनलाई प्रभावकारी बनाउन भव्य बगैंचा बनाउने योजना अघि सारिएको थियो।
तीनकुनेमा ४६ रोपनी जग्गा रहेको छ। यसमध्ये २१ रोपनीको मुआब्जा सरकारले वितरण गरिसकेको छ। १५ करोड रुपैयाँको बजेटबाट प्रतिआना तीन लाख रुपैयाँका दरले १० करोड ८० लाख रुपैयाँ भुक्तानी गरिएको छ। तर, बाँकी २५ रोपनी जग्गाका धनीहरूले मुआब्जा अस्वीकार गरेका छन्। उनीहरूले अहिलेको बजार मूल्यअनुसार क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन्।
तीनकुने क्षेत्रका बाँकी २५ रोपनी जग्गाका धनीहरू मुआब्जा नपाएकोमा असन्तुष्ट छन्। सिनामंगल र कोटेश्वर क्षेत्रका सडक किनारमा पर्ने करिब ८ रोपनी जग्गाका लागि पनि स्थानीयले मुआब्जाको दाबी गरेका छन्।
स्थानीय बासिन्दाले विगत ५० वर्षदेखि कानुनी रूपमा मुआब्जाको दाबी गर्दै आएका छन्। तर, हालसम्म सरकार र स्थानीय प्रशासनबीच कुनै ठोस सहमति हुन सकेको छैन।
११औं सार्क सम्मेलनमा माल्दिभ्स, पाकिस्तान, र श्रीलंकाका राष्ट्रपतिहरू तथा बंगलादेश, भुटान, भारत र नेपालको प्रधानमन्त्रीहरूले भाग लिएका थिए। त्यस समयमा काठमाडौंलाई सिंगार्ने नाममा मुआब्जा नदिई धेरै नागरिकका घर भत्काइए। करिब सो क्षेत्रमा १८० भन्दा बढी घर भत्किएका थिए ।
सार्क सम्मेलनका लागि माइतिघरमा राष्ट्रिय झण्डासहितको बगैंचा बनाइएको थियो भने तीनकुने क्षेत्रमा भव्य बगैंचा निर्माण गरियो। तर, यो सौन्दर्यकरण अभियानले धेरै स्थानीयको जायजेथा खोसिएको गुनासो रहँदै आएको छ।