भेरी–बबईमा छ करोड भ्रष्टाचारमा संलग्न कोइरालासहितलाई निलम्बन गर्नुपर्ने बीमा प्राधिकरणकै प्रतिवेदन कार्यान्वयन भएन

१२ पुष २०८१, शुक्रबार १५:०५

काठमाडौं । वास्तविकभन्दा छ करोड ८८ लाख रुपैयाँ बढि दावी भुक्तानी दिई भ्रष्टाचारजन्य कार्यमा संलग्न राष्ट्रिय बीमा कम्पनीका तत्कालिन कामु सिईओ सुवास कोइराला, लेखा प्रमुख, दावी भुक्तानी विभागका तत्कालिन प्रमुख देवराज घिमिरे तथा सञ्चालक समितिका अध्यक्ष समेतलाई कारवाही गर्नुपर्ने बीमा प्राधिकरणको आफ्नै निर्णय कार्यान्वयन हुन नसकेको तथ्य बीमापोष्टले फेला पारेको छ ।

 

भेरी बबई सिंचार आयोजनाको दावी भुक्तानीको क्रममा ठेकेदार कम्पनी युआनटिआन–रमन जेभीसँग मिलेमतो गरी भएको छ करोड बढि भ्रष्टाचार काण्डमा बीमा प्राधिकरणले छानविन गरेको थियो । प्राधिकरणका उप निर्देशक बिराेध भट्टकाे नेतृत्वमा गरिएकाे छानविनको क्रममा त्रुटीपूर्ण दावी भुक्तानी भएको निष्कर्ष निकाल्दै राष्ट्रिय बीमा कम्पनीका तत्कालिन कामु सिईओ (हालका डेपुटी सिईओ) सुवास कोइराला, तत्कालिन सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्याय तथा लेखा प्रमुख तथा दावी भुक्तानी विभागका प्रमुख समेतलाई कारवाही गर्नुपर्ने निष्कर्ष छानविन प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

 

बीमा प्राधिकरणले गरेको छानविनको क्रममा भेरी बबई सिंचाई आयोजनामा जम्मा दुई करोड रुपैयाँ बराबरको मात्रै काम सम्पन्न भएको अवस्थामा बाढीले बगाएको थियो । ठेकेदार कम्पनीले कार्य सम्पन्न प्रतिवेदनमा जम्मा दुई करोड रुपैयाँ बराबरको मात्रै उल्लेख गरी आयोजनामा बुझाइएको थियो । बाढीले बगाएपछि ठेकेदार कम्पनीले राष्ट्रिय बीमा कम्पनीका तत्कालिन निमित्त सिईओ सुवास कोइरालासँग सेटिङ हाने । जम्मा दुई करोड रुपैयाँको मात्रै निर्माण सम्पन्न भएको आयोजनाका ठेकेदार रमन महतोले आठ करोड ८८ लाख रुपैयाँको क्षति भएको भन्दै बीमा दावी माग गरे । राष्ट्रिय बीमा कम्पनीले सर्भेयर खटायो र क्षति भएको प्रमाण समेत दियो । सोही प्रतिवेदनको आधारमा राष्ट्रिय बीमा कम्पनीले दावी भुक्तानी तिर्यो ।

 

पछि सो बिषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्यो । त्यसअघि महालेखा परिक्षकको कार्यालयले समेत छानविन गर्दा रमनजेभीले भेरी बबई सिंचाई आयोजनामा जम्मा दुई करोडको मात्रै काम सम्पन्न भएको भनेर भुक्तानी लिएको भेटियो । जम्मा दुई करोड रुपैयाँको मात्रै निर्माण कार्य सम्पन्न भएको आयोजनाको बीमा बापत भने आठ करोड ८८ लाख रुपैयाँ भुक्तानी लिएको तथ्य प्रमाण महालेखामा भेटिएपछि अख्तियारले चासो दियो । अख्तियारले बीमा प्राधिकरणलाई सो बिषयमा पत्राचार गर्यो ।

 

बीमा प्राधिकरणमा पनि अख्तियारको पत्र आयो, सोही पत्रको आधारमा बीमा प्राधिकरणले गत वर्ष गरेको छानविनका क्रममा तत्कालिन कामु सिईओ सुवास कोइराला नै मुख्य जिम्मेवार भन्दै निम्लवन गर्नुपर्ने निष्कर्ष प्रतिवेदनमा लेखियो । राष्ट्रिय बीमा कम्पनी सिईओ विहिन अवस्थामा चलिरहेको थियो । कम्पनीमा सबै हर्ताकर्ता कामु सिईओका रुपमा सुवास कोइराला नै थिए । उनकै कार्यकालमा उक्त भ्रष्टाचार काण्ड घटेको थियो ।

तर, बीमा प्राधिकरण आफैले लेखेको निष्कर्ष अहिलेसम्म कार्यान्वयन भएको छैन । बीमा प्राधिकरणको उक्त प्रतिवेदन कार्यान्वयन अख्तियारमा भने पठाइसकेको छ । अब प्रश्न उठ्छ नियामक निकाय आफैले निलम्वन गर्नुपर्दछ भनेर प्रतिवेदनमा लेखिसकेपछि फेरि अख्यिारकै मुख ताकेर बस्ने कि स्वतन्त्र नियामक हुनुको नाताले आफैले निम्बलन गर्ने ? छ करोड भन्दा बढि नेपाल सरकारको लगानी भएको कम्पनीलाई नोक्सान पुर्याउने अभियक्तहरुलाई कारवाही कहिले हुन्छ ? प्रश्न उठिनैरहेको छ ।

 

राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइराला भ्रष्टाचार काण्डमा मुछिए, तत्काल निलम्वन गर्न प्राधिकरणको सिफारिस

 

घोटाला राष्ट्रिय बीमा कम्पनीमा, अख्तियार धाउने अध्यक्ष सिलवाल, बीमा क्षेत्रमा नियमन खोई ?

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*