रविको मुद्दामा न्यायाधीशको देवत्वकरण नगर्न आग्रह, पुर्पक्षकै आदेश आउने सम्भावना प्रबल
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको इन्कारी बयान अन्तिम चरणमा पुगेपनि उनीबारेको सुनुवाई लम्बिने भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईसमक्ष बिहीबार पहिलो दिनको बयान भएकामा शुक्रबार पनि शुरुमै रविको बयानले निरन्तरता पाउने बताइएको छ ।
लामिछानेको बयान सकिएपछि मात्रै अर्का प्रतिवादी रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान हुने बताइएको छ । लामिछानेभन्दा पहिले गोर्खा मिडियाका पूर्वसञ्चालक पूर्वडीआईजी छविलाल जोशी र गुल्मी मुसिकोट नगरपालिका-४ की लीला पछाईंको बयान भएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दामा लामिछानेसहित पाँच जना प्रतिवादीको सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान भइरहेको हो । कास्कीसहित विभिन्न जिल्लाका सरकारी वकिलसमक्ष प्रहरीले लिएको बयानमा लामिछानेले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको र सहकारी ठगीलगायतका क्रियाकलापमा संलग्न नभएको जिकिर गर्दै आएका छन् ।
प्रतिवादी पाँचै जनाको बयानपछि बल्ल थुनछेक बहस हुनेछ । बहस टुंगिन पनि ४-५ दिन लाग्ने र न्यायाधीशको आदेश आउन साता दिन जस्तो लाग्ने बताइँदै छ । रवि लामिछानेको हकमा प्रछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी पुर्पक्षको आदेश हुने सम्भावना बढिरहेको मुद्दासँग सम्बन्धित कानून व्यवसायीले बताएका छन् ।
रविलाई जसरी पनि थुनामा पठाउने गरीको अभ्यास भइरहेकाले कास्की जिल्ला अदालतका न्यायाधीश राईले प्रेसर थेग्न नसक्ने समेत आँकलन गरिँदै छ । बाहिर फेरा देशकै कान्छा एवं उर्जावान न्यायाधीश भन्दै उनको व्यापक बढाई चढाई सुरु भएको छ भने कतिपयले युवा वर्गको उत्साह नमार्ने गरीको फैसला दिन भन्दै खुल्ला पत्रसम्म लेख्न भ्याएका छन् ।
यद्यपि, वास्तविकता भने सामाजिक सञ्जालले अपेक्षा गरे जस्तो छैन । न्यायाधीश राई आफैं कानून उपसचिवको रुपमा लामो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेका व्यक्ति हुन् । न्यायाधीशका रुपमा उनको अनुभव गहिरो छैन । न्यायाधीशको नियुक्ति खाएपछि ललितपुर जिल्ला अदालतबाट उनले न्याय सम्पादनमा पाइला राखेका थिए । त्यो बेला कानून व्यवसायी समेतले उनलाई काँचा न्यायाधीश भनेर टिप्पणी गर्ने गर्थे । केही कानून व्यवसायीले भनेका छन्, बाहिर फेरा न्यायाधीशको देवत्वकरण गर्नु व्यर्थ छ, कानून, प्रमाण र मिसिलका आधारमा न्यायाधीशले निर्णय दिने हो । त्यसका लागि युवा वा वयस्क भन्ने हुँदैन । रवि निकटस्थ एक कानून व्यवसायीले न्यायाधीशको देवत्वकरण नगर्न आग्रह नै गरेका छन् ।
यसैबीच, सूर्यदर्शन सहकारी ठगीका फरार प्रतिवादीमध्ये अन्य दुई जनालाई पनि बिहीबार अदालत उपस्थित गराइएको छ । गण्डकी प्रदेशका पूर्वसांसद मीना गुरुङ र आरती गुरुङलाई प्रहरीले पक्राउ गरेर अदालत लगेको हो ।
कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको सम्बन्धमा सहकारी ठगीको मुद्दा गत वर्षदेखि नै विचाराधीन छ । गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता भएको थियो ।
कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार र आइतबार गरी सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरेको हो । आइतबार दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, जोशीसमेत ४४ जनालाई प्रतिवादी बनाइएको छ ।
तीमध्ये ३१ जना व्यक्ति, ८ कम्पनी छन् । अन्य पाँच जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता गरिएको थियो । यद्यपि, सहकारी ऐन अनुसार यसरी पूरक अभियोग दर्ता गर्न मिल्दैन । कुल ६३ प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो कायम गरी दायर भएको मुद्दामा हिरासतमा रहेका प्रतिवादीको बयान चलिरहेको छ ।