२६ करोड चुक्तापूँजी रहेको राष्ट्रिय बीमा कम्पनीमा १ अर्बको दाबी, कम्पनीको भविष्य संकटमा
काठमाडौँ । सरकारी र सर्वसाधारणको लगानी रहेको राष्ट्रिय बीमा कम्पनी अहिले संकटको घेरामा परेको छ । २६ करोड ६६ लाख रुपैयाँ मात्र चुक्ता पुँजी रहेको कम्पनी एक अर्बभन्दा बढीको नोक्सानीमा पर्दा टाट पल्टिने अवस्थामा आइपुगेको हो । यसले गर्दा कम्पनीको भविष्यमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।
गत असोज १२ गते आएको भिषण बाढीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना ठूलो क्षति भएको थियो । उक्त आयोजनाले राष्ट्रिय बीमा कम्पनीमा बीमा गराएको हुँदा १ अर्ब ७८ करोड रुपैयाँको दाबी पेश गरेको थियो । तर, बाढीपछि मात्र बीमा कम्पनीले पुनर्बीमा नगरेको तथ्य बाहिर आएको छ । यसले कम्पनीलाई वित्तीय अवस्थामा जानुक अवस्थामा पुराउने देखिएको हो । यसमा तत्कालीन कामु सिईओ सुवास कोइराला र पुनर्बीमा विभाग प्रमुख डा. सिर्जना पन्तमाथि गम्भीर आरोप लगाएका छन् ।
यो घटनाको बारेमा राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिले छानबिन सुरु गरेको छ । सुरुमा अनुमान गरिएको क्षतिको भन्दा कम दाबी भुक्तानी माग गरिएको भए तापनि, बीमा दावीको साँचो स्थिति प्रकट भएपछि कम्पनीलाई थप नोक्सानी हुने निश्चित भएको छ । कम्पनीको जगेडा कोष २ अर्ब ३३ करोड रहेको छ र अहिले सो कोषबाट मात्र अपर तामाकोशी जलविद्युत आयोजनाको बीमा दावी भुक्तानी तिर्ने अवस्था देखिएको छ । यसको परिणामस्वरूप कम्पनीको जगेडा कोषमा ४० प्रतिशत नोक्सानी हुने प्रकट भएको छ । यसले कम्पनीको शेयर मूल्यलाई पनि गम्भीर असर पुर्याएको छ ।
कम्पनी डुब्ने अवस्था सिर्जना नभएपनि बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीलाई जुनसुकै बेला पनि समस्याग्रत घोषणा गर्ने देखिएको हो । बीमा प्राधिकरणको बीमा ऐन १०१ अनुसार कम्पनी समस्याग्रत घोषणा हुने छ । यसको परिणामस्वरूप, शेयर बजारमा उच्च मूल्यमा कारोबार भइरहेको यस कम्पनीको शेयर मूल्यको गिरावट हुनेछ र लगानीकर्ताको पैसा बालुवामा पानी झैँ हुने निश्चित छ ।