सुस्त बजारमा निराश लगानीकर्ताः हल्ला प्रभावित पुँजी बजार, के गर्दा आउँला सुधार ?
काठमाडौँ । पछिल्ला दिनमा नेपालको शेयर बजार सुस्त बन्दै गएको छ, जसले गर्दा लगानीकर्तामा निराशा छाएको छ । बजारमा आएको निरन्तर रातो संकेतले विशेषगरी नयाँ लगानीकर्ताको मनोबल घटाइरहेको छ । पुँजी बजारमा आवश्यक ज्ञानको अभावले गर्दा हल्लाले बजार बढी प्रभावित भइरहेको छ ।
बजारमा सीमित स्वार्थ बोकेका ठुला लगानीकर्ताले नवप्रवेशी लगानीकर्तालाई आफ्नो स्वार्थमा नचाइरहेको देखिन्छ । यस्ता लगानीकर्ताले समयमै आफ्नो स्वार्थ पूरा गरेर बजारबाट बाहिरिने रणनीति अपनाउँछन्, जसको कारण नयाँ लगानीकर्ताहरू ठूलो आर्थिक जोखिममा पर्ने गरेका छन् ।
कारोबारका समयमा ठुला लगानीकर्ताले शेयर बजारप्रति नकारात्मक टिप्पणी गर्ने प्रचलनले साना लगानीकर्ताहरूमा थप त्रास फैलाइरहेको छ । बजार हाल हल्लाका आधारमा चलेको देखिन्छ, जसले स्वस्थ र दीर्घकालीन लगानी वातावरणलाई चुनौती दिइरहेको छ । यो समस्याको समाधानका लागि लगानीकर्ता शिक्षालाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१९ अकंले बढेर २६३०.७१ बिन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजा। ९७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज चार उपसूचकमा मात्र हरियाली लागेको छ । यसदिन बैंकिङ समूहको १.८१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.१४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको २.३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको घटेको छ ।