निर्जीवन बीमा कम्पनीको व्यवसाय ९% ले बढ्यो, अग्रस्थानमा सलिको, बृद्धिदरमा ओरियन्टल र नेपाल इन्स्योरेन्स
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १७ अर्ब १७ करोड रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्मको अवधिमा उक्त बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा ९.२७ प्रतिशतले बढेको छ । कम्पनीहरुले गत आवमा १५ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएका थिए ।
मंसिर मसान्तसम्मको अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् भने गत आवको तुलनामा द ओरियन्टल इन्स्योरेन्स, नेपाल इन्स्यारेन्स र एनएलजी इन्स्योरेन्सको व्यवसाय आक्रामक रुपले बृद्धि भएको छ ।
द ओरियन्टल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन गत आवको तुलनामा ५४.९८ प्रतिशतले बृद्धि भएको छ । पाँच महिनाको अवधिमा कम्पनीको व्यवसाय एक अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
कुल बीमा शुल्क आर्जको आधारमा,
नेपाल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ५२.५७ प्रतिशतले बढेर ९४ करोड ४६ लाख रुपैयाँ रहेको छ । साथै व्यवसाय बृद्धिमा तेस्रो स्थानमा रहेको एनएलजी इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ११.२३ प्रतिशतले बढेर एक अर्ब एक करोड रुपैयाँबाट एक अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
साथै, शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १०.४५ प्रतिशतले बृद्धि भएको छ । निर्जीवन बीमा कम्पनीमा सर्वाधिक दावी भुक्तानी दिएको यस कम्पनीले चालु आवको पाँच महिनामा एक अर्ब ७४ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यवसाय १० प्रतिशतले बृद्धि भएर दुई अर्ब १९ करोड रुपैयाँ रहेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय ७.१९ प्रतिशतले बृद्धि भई ६७ करोड रुपैयाँ रहेको छ ।
गत आवको तुलनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.0६ प्रतिशत, नेशनल इन्स्योरेन्सको ६.१६ प्रतिशत, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको ५.३६ प्रतिशत, नेको इन्स्योरेन्सको ५.३१ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको इन्स्योरेन्सको २.९८ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.४० प्रतिशतले कुल बीमा शूल्क आर्जन बढेको छ ।
मंसिर महिनामा युनाइटेड अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको बीमा व्यवसायमा सामान्य गिरावट आएको विवरणले देखाएको छ ।