मंसिरमा निर्जीवन बीमा ब्यवसाय ३ अर्बमाथिः शिखर-आइजिआई र सिद्धार्थको प्रतिस्पर्धा, पुच्छरमा नेशनल
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्र ३ अर्ब ८ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको मंसिर महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आर्थिक वर्षको मंसिर महिनाको तुलनामा उक्त ब्यवसाय ३.०१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको कात्तिकमा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ९९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थिए ।
गत मंसिरको तुलनामा यस वर्ष मंसिरमा ६ कम्पनीको ब्यवसाय घट्न पुगेको छ भने ८ कम्पनीको बढेको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा मात्रै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफ्नो ब्यवसाय ७.२८ प्रतिशतले बढाएर ४२ करोड ३० लाख रुपैयाँ पुराएको हो । कम्पनीले आर्जन गरेको बीमा शुल्क निर्जीवन बीमा कम्पनी मध्यकै धेरै हो ।
त्यस्तै, मंसिरमा सर्वाधिक बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले एक महिनाको अवधिमा ३३ करोड २२ लाख रुपयाँको ब्यवसाय गर्ने सफल भएको हो । कम्पनीले आर्जन गरेको ब्यवसाय गत मंसिरको तुलनामा ९.२८ प्रतिशतले बढी हो ।
यता, चालु आर्थिक वर्षको मंसिर महिनामा क्रमशः आइजिआई प्रुडेन्सियलको ब्यवसाय ११.४५ प्रतिशतले बढेर ३२ करोड ३ लाख, सिद्धार्थ प्रिमियरको ३.८३ प्रतिशतले घटेर ३० करोड ५९ लाख, नेको इन्स्योरेन्सको ८.२२ प्रतिशतले घटेर २५ करोड १० लाख, हिमालयन एभरेष्टको ४.१० प्रतिशतले घटेर २५ करोड १० लाख, सानिमा जिआइसीको १३.३९ प्रतिशतले घटेर २१ करोड ८१ लाख, द ओरियन्टलको ४४.४५ प्रतिशतले बढेर १९ करोड, एनएलजिको ४.७० प्रतिशतले बढेर १८ करोड ८६ लाख रुपैयाँ रहेको छ ।
साथसाथै, एक महिनाको अवधिमा युनाइटेड अजोडको ८.६५ प्रतिशतले घटेर १८ करोड ५३ लाख, नेपाल इन्स्योरेन्सको २८.३१ प्रतिशतले बढेर १५ करोड ७८ लाख, प्रभु इन्स्योरेन्सको २.९५ प्रतिशतले बढेर करिब १४ करोड, राष्ट्रिय बीमा कम्पनीको ३८.३४ प्रतिशतले बढेर ५ करोड ६१ लाख र नेशनल इन्स्योरेन्सको ३३.८१ प्रतिशतले घटेर ५ करोढ ३१ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।