त्रिवेणी ग्रुपको अखाद्य ‘रानी’ तेल बजारमा, मानव स्वास्थ्यमा गम्भीर खेलबाड

जमेको तेल खाँदा हृदयाघात र मस्तिष्कघातको खतरा
११ पुष २०८१, बिहीबार ११:०८

काठमाडौं । चर्चितमध्येको औद्योगिक घराना संघाई अन्तर्गतको त्रिबेणी ग्रुपले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरिरहेको खुलासा भएको छ । पर्सा र रुपन्देही दुबैठाउँबाट उत्पादन भई निर्वाध बजारमा विक्री भइरहेको ‘रानी’तेल मानव स्वास्थ्यका लागि असाध्य हानिकारक रहेको पाइएको हो ।

त्रिवेणी ग्रुपको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिबाट उत्पादित ‘रानी’ ब्रान्डको सरसो र तोरीको दुबै तेल खान अयोग्य रहेको बताइएको छ । जाडो याममा सरसोको तेल घ्युजस्तै जमेको र कुनै–कुनै प्याकेटहरु ५२ डिग्रीको तापक्रम दिँदा पनि नपग्लिएको तथ्य खुलेको छ ।

हालै बजारमा फेला परेको ब्याच नम्बर ०१, प्याकेट ०८१–०४ लेखिएको ‘रानी’ब्रान्डको कच्ची घानी सरसोको तेल ग्रेड-१ उल्लेख भए पनि प्याकेटमा घ्युजस्तै जमेको फेला परेको छ । सामान्यतया कुनै पनि मिसावट नहुने हो भने तोरी र सरसोको कच्चा तेल कुनै पनि अवस्थामा नजम्ने फुड प्राविधिकहरु बताउँछन् । तर, अन्नपूर्ण भेजिटेबल प्रोडक्स प्रालि शुद्ध सरसोको तेल भनेर भाारतको राजस्थानबाट उत्पादित ‘रानी’ब्राण्डको सस्तो तेल र पाम अइल मिसाएर नयाँ प्याकेटमा निर्वाध विक्रि गरिरहेको छ ।

बाहिरफेरा अन्नपूर्णा भेजिटेबल प्रोडक्सले जनावरको बोसो र औद्योगिक ट्रान्स फ्याट (पीएचओ)सँगै हाइड्रोजन मिसाएर तेल उत्पादन गरेका कारण जमेको बताए पनि कारण अर्कै रहेको यस मामिलाका जानकारले बताएका छन् ।

बीमापोष्टसँग उनले भने, ‘जनावरको बोसो र हाइड्रोजन राखेर तेल उत्पादन गरेका कारण जमेको भन्ने कुराले मानव स्वास्थ्यका लागि विष उत्पादन गर्ने उद्योगीलाई नै सहयोग पुग्छ । जनावरको बोसो सस्तो छैन । डेढ दुई सय रुपैयाँ किलो छ । अनि हाइड्रोजन मिसाउँदा झन् त्यो तेल महँगीन जान्छ । कुरा त्यो होइन । सत्य कुरा सोझै भुटेर खान नहुने पाम तेल नै मिसाउने हो । अर्को भनेको तोरीको तेलमा भुसको तेल मिसाउने हो । पाम अइल ५०-६० रुपैयाँ किलो छ । भुसको तेल पनि त्यस्तै नै सस्तो छ । यहि सस्तो तेलमा महँगो तेलको सुगन्ध मात्रै राखेर प्याकिङ गर्ने हो । जुुन सोझै जम्ने गर्दछ ।’

उनका अनुसार पाम तेल बेकरी सर्जनिङका लागि हो, सोझै भुटेर वा त्यसमा खानेकुरा तारेर खानु स्वास्थका लागि निकै हानिकारक छ । अर्कोतिर जम्ने तेल सोझै अखाद्य मानिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागका प्राविधिकहरुले समेत तोरी वा सरसोको तेल शुद्ध हो भने कुनै पनि अवस्थामा नजम्ने बताएका छन् ।

प्राविधिकले जमेको तेल प्रयोग गर्नै नहुने बताएका छन् । बेकरी आइटमहरु बनाउनलाई उत्पादित तेल भान्सामा प्रयोग गर्न नहुने उनीहरुको सुझाव छ । त्रिबेणी ग्रुपले उत्पादन गरेको रानी तेल पनि बेकरी सर्जनिङको लागि मात्रै भएको र सोझै भान्सामा प्रयोग गर्न नमिल्ने खाद्य प्राविधिकहरुको सुझाव छ
यस्तो तेलमा पकाएको खानेकुराले मानव शरीलाई मन्दविषजस्तै असर गर्ने मात्र नभई रगतमा खराबी ल्याउने, कोलेस्ट्रोलको मात्रालाई बढाउने र असल कोलेस्ट्रोलको मात्रालाई घटाउने सम्मका हानी गर्दछ ।

यस्तै, धमनीहरूको भित्रि भागमा नकारात्मक असर पारी धमनीहरू साँघुरिने क्रमलाई तीब्रताकासाथ बढाउँछ । त्यति मात्रै नभई रगतको थेग्रा जम्ने सम्भावना बढेर हृदयाघात र मस्तिष्कघात निम्तिने खतरा हुन्छ । यसरी गुणस्तरहीन एवं मानव स्वास्थ्यका लागि हानिकारक तेल उत्पादन’ गरेर निर्वाध विक्री गरिरहेको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिका सञ्चालक प्रभु दयाल कन्दोइले गल्ती स्वीकार गरेका छन् भने बजारबाट सो ब्याचको तेल फिर्ता लिएको भनी टालटुले जवाफ दिएका छन् । उनले बजारबाट उक्त ब्याचको तेल खिचेको बताए पनि प्याकेटमा जमेको तेल यत्रतत्र भेटिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*