जोखिमपूर्ण लगानीमा चासो राख्दै बीमा कम्पनी, धमाधम घरजग्गा थप्दै
काठमाडौं । घरजग्गामा लगानी भने शून्य गर्दै आएको बीमा कम्पनीहरुले अब भने लगानी अघि बढाउने भएको छ। लगानीको सुरक्षित माध्यमको विकल्प आधार मानेर लगानी गर्दै आएको बीमा कम्पनीहरु अब भने जोखिमपूर्ण लगानीको बाटोमा चासो राख्न थालेका छन् ।
सरकारी तथ्यांक हेर्दा घरजग्गा कारोबारबाट आउने राजस्व बढ्दै गएको देखिन्छ, यसले यो क्षेत्रमा सुधार आउन थालेको बुझाउँछ । वर्ष दिनअघिसम्म रियलस्टेट कम्पनीबाट आइरहेका छुट र उपहारका योजना पनि कम हुँदै गएका छन् ।
यी दुवै घटनाले घरजग्गा क्षेत्रमा सुधार आएको संकेत गर्छ । तर थप दुई तथ्य हेर्ने हो भने घरजग्गाको समस्या र त्यसको असर अझै बाँकी रहेको देखिन्छ ।
पछिल्लो ४ महिनामा ३६ घरजग्गा र निर्माण कम्पनी ऋण तिर्न नसकेर कालोसूचीमा परेका छन् । यसले घरजग्गाको नाममा लिइएका ऋणबाट बैंक तथा वित्तीय संस्थामा जोखिम यथावत रहेको देखाउँछ ।
ठूला परियोजना तयार गर्नेभन्दा ससाना टुक्रे जग्गाको कारोबार गर्ने कम्पनीले ऋण तिर्न नसकेको तथ्यांकले औंल्याएको छ । कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार मंसिर ८ देखि चैत ११ सम्म ३६ हाउजिङ, डेभलपर र कन्सट्रक्सन कम्पनी कालोसूचीमा परेका छन् । व्यक्तिगत नाममा ऋण लिएका र घरजग्गामा लगानी फसेर कालोसूचीमा पर्नेको संख्या जोड्दा यो अझ बढी हुन सक्ने छ ।
जोखिमको सम्भावना उच्च रहेको घरजग्गामा लगानी गर्न बीमा कम्पनीहरुलाई आफै रिक्स रहेको छ।
बीमा कम्पनी भनेको जोखिम रक्षावरण गर्ने माध्यम हो । कतिबेला भवितव्य आईपर्छ भन्ने पूर्व जानकारी हुँदैन । त्यसैले कम्पनीले जोखिम गर्दा उच्च जोखिम कम भएको क्षेत्रमा गनुपर्ने हुन्छ । प्राधिकरणले बैंकको मुद्धती निक्षेपमा मात्रै ४५ प्रतिशत लगानी गर्ने व्यवस्था लागू गरेको छ । त्यस्तै, अग्राधिकार बैंकको शेयर, वण्ड, डिभेञ्चर र ऋणपत्रमा ३० प्रतिशत लगानी गर्ने व्यवस्था लागू गरेको छ।
जोखिमयुक्त क्षेत्रमा प्राधिकरणले कम लगानी गर्ने वातावरण नै लागू गरेको छ। सो हुँदा पनि लगानी गर्न डराईरहेका बीमा कम्पनीहरु अब भने धमाधम घरजग्गा खरिदतर्फ अघि बढ्न लागेका छन् ।
बीमा कम्पनीहरुले काठमाडौं उपत्यका भित्र र बाहिर दुबै क्षेत्रमा घरजग्गा लगानीको गर्न बीमा प्राधिकरणमा आवेदन दिएका छन् । अधिकांश बीमा कम्पनीहरुले काठमाडौं आसपासको घरजग्गामा लगानी गर्ने उत्सुहकता देखाएको बीमा प्राधिकरणले जनाएको छ।
नेपाल बीमा प्राधिकरणको प्रावधान अनुसार बीमा कम्पनीहरुले घरजग्गामा बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने छन्। घरजग्गामा गएको लगानीको प्रत्येक तीन वर्षमा नयाँ मूल्यांकन गर्नुपर्नेछ।
विभिन्न क्षेत्रमा लगानी बढाईरहेका कम्पनीहरुको घरजग्गामा लगानी गर्न बीमा प्राधिकरणमा आवेदन दिएको छ। यसअघि आफ्नो लगानीको क्षेत्र विस्तार गरिरहेका कम्पनीहरु घरजग्गा कारोबारमा भने लगानी गर्न डराइरहेका थिए ।
लगानी निर्देशिकामा सुरुमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशत लगानी गर्ने व्यवस्था गर्दा पनि कम्पनीहरुले लगानीको माध्यम देखेको थिएन् । सो पश्चात् बीमा प्राधिकरणले बीमकको लगानी निर्देशिका संसोधन गर्दै १० प्रतिशत लगानीको दायरा विस्तार गर्ने व्यवस्थामा पनि बीमा कम्पनीहरु इच्छुक देखिएका थिएनन् ।
लगानी निर्देशिका आएको लामो समयपछि बीमा कम्पनीहरुले घरजग्गामा लगानी गर्ने उत्सुकता देखाएको छ।
बीमा प्राधिकरणमा नेपाल लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स, सिटिजन लाइफ र हिमालयन लाइफ इन्स्योरेन्सले घरजग्गा लगानीका लागि अनुमति मागेको जनाएको छ।
नेपाल लाइफले भने जग्गा खरिद गरिसकेको छ। कम्पनीले १६ करोड ७९ लाख रुपैयाँमा खरिद गरेको छ ।
हिमालयन लाइफले १ अर्ब ६६ करोड रुपैयाँको घरजग्गा खरिदको लागि स्वीकृती लिएको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब रुपैयाँ, सिटिजन लाइफले ७० करोड रुपैयाँ, नेको इन्स्योरेन्सले पनि ८ करोड रुपैयाँको घरजग्गा खरिदको अनुमति लिएका छन् । यी मध्ये नेपाल लाइफले भने इटहरीमा जग्गा सहितको भवन लिईसकेको छ ।