गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा
काठमाडौँ । गुणस्तरमा गम्भीर समस्या देखिएको हुन्डाईको ‘आइओनिक ५’ नेपाली बजारमा धमाधम बिक्री भइरहेको छ । हुन्डाई गाडिको नेपालको आधिकारिक विक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर्स कर्पोरेसनले गुणस्तरहीन ‘आइओनिक ५’ ग्राहकलाई ठग्दै बिक्री गरिरहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा गुणस्तरहीन भइसकेको हुन्डाई आइओनिक ५ नेपालमा भने ग्राहक फसाउँदै लक्ष्मी मोटर्सले करोडौं मूल्यमा बिक्री गर्दै आइरहेको छ । विद्युतीय सवारी साधनलाई चार्जिङ र ड्राइभ पावर समस्याका कारण अन्तर्राष्ट्रिय बजारमा कम्पनीको उक्त गाडी डिलरले फिर्ता मागेको छ ।
आइओनिक ५ को इन्ग्रेटेड चार्जिङ कन्ट्रोल युनिट (आइसिसियु) मा समस्या देखिएको छ । यसले सवारी साधनको १२–भोल्टको सहायक ब्याट्री चार्ज गर्न नसक्ने स्थिति निम्त्याउन सक्छ, जसले ड्राइभ पावर गुम्न सक्ने खतरा रहन्छ । आइसिसियुले सवारी साधनको सहायक उपकरण र विद्युत प्रणालीलाई चार्ज गर्ने काम गर्दछ ।
भारतमा पनि आइओनिक ५ मा समस्या देखा परेको छ । सन् २०२३ को जनवरीदेखि २०२४ को अप्रिलसम्म उत्पादन गरिएका १,७०० भन्दा बढी युनिटहरू प्रभावित भएका छन् । आइसिसियुमा खराबी आएमा सवारी साधनको १२–भोल्टको ब्याट्री डिस्चार्ज हुने खतरा छ। यो ब्याट्रीले इन्फोटेनमेन्ट, वातानुकूलनजस्ता महत्त्वपूर्ण प्रणालीहरूलाई ऊर्जा पु¥याउँछ । यदि यो डिस्चार्ज भयो भने ती प्रणालीहरू काम गर्न सक्दैनन् ।
नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनका अनुसार प्रभावित सवारी साधनहरूको चार्जिङ कन्ट्रोल युनिटमा रहेको ट्रान्जिस्टरमा समस्या देखिएको छ । यसका कारण १२–भोल्टको ब्याट्री चार्ज हुन सक्दैन, जसले ड्राइभ पावर गुम्न सक्छ र दुर्घटनाको खतरा बढाउँछ ।
अन्तर्राष्ट्रिय बजारमा डिलरहरूले प्रभावित आइसिसियु र यसको फ्युज जाँच गर्ने र आवश्यक परेमा तिनको प्रतिस्थापन र सफ्टवेयर अपडेट निःशुल्क गरिरहेका छन् । यो समस्या पहिलोपटक अक्टोबर २०२२ मा देखिएको हो । आइसिसियुमा ताप क्षति भएको पत्ता लागेपछि हुन्डाईले सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म विभिन्न परीक्षण र अनुसन्धान ग¥यो । यस अवधिमा, आइसिसियु फेल भएका ५७ घटनाको रिपोर्ट गरिएको थियो ।
नयाँ सफ्टवेयर अपडेटले चार्जिङको अन्त्यमा हुने भोल्टेजको चरम वृद्धि रोक्न डिजाइन गरिएको छ । यसले रेडियेटर फ्यान र विद्युतीय पानी पम्पको कार्यक्षमता सुधार गरी चार्जिङ र ड्राइभिङको बेला तापीय दबाब घटाउन मद्दत गर्दछ । आइसिसियुको फ्युज फेल भएमा सवारी साधन २२ देखि ४५ मिनेटभित्र क्रमिक रूपमा पावर घटाउँदै फेल–सेफ मोडमा प्रवेश गर्नेछ। तर, ब्रेकिङ, एयर ब्याग र स्टीयरिङजस्ता सुरक्षा प्रणालीहरू क्रियाशील नै रहनेछन् ।
नेपालमा भने लक्ष्मी मोटर्सले यो गाडी फिर्ता गर्ने कुनै निर्णय गरेको छैन । उल्टै गुणस्तरहीन ‘आइओनिक ५’ १२४.९ किलोवाटको १ करोड ३ लाख ९६ हजार र १०० किलोवाटको ९२ लाख ९६ हजार रुपैयाँमा बिक्री गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा फिर्ता बोलाइएको यो गाडिलाई लक्ष्मी मोटर्सले नेपालमा कुनै समाधानको घोषणा नगरी बिक्री गरिरहेको छ । ग्राहक सुरक्षामाथि गम्भीर प्रश्न उठाउने यो कदमले कम्पनीको जिम्मेवारीप्रति शंका पैदा गरेको छ ।
लक्ष्मी मोटर्सले नवलपरासीमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । यो प्लान्टमा अहिले भेन्यु कार एसेम्बल भइरहेको छ । लक्ष्मी ग्रुपले करिब २ अर्ब रुपैयाँ खर्चेर तयार पारेको एसेम्बल प्लान्ट १० बिघामा फैलिएको छ।
One thought on “गुणस्तरहीन हुन्डाई ‘आइओनिक ५’ धमाधम बिक्री गर्दै लक्ष्मी मोटर्स, ग्राहकको सुरक्षामा खतरा”