पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कुनले कति दिँदैछन्?
काठमाडौं । आज पुस ९ गते मंगलबार पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन मञ्जुश्री फाइनान्स लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रोपावर, आरएसडिसी लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरूले पुस ११ गते बुक क्लोज गर्दैछन्। भोलि क्रिसमस डेको सार्वजनिक बिदा भएकाले आजसम्म कायम शेयरधनीले मात्रै यी कम्पनीहरूको लाभांश प्राप्त गर्नेछन्।
मञ्जुश्री फाइनान्सले चुक्ता पूँजीको ६.३५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते थापागाउँ ब्याङ्क्वेट नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सभा बस्दैछ।
माउन्टेन इनर्जीले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न पुस २८ गते आम्रपाली ब्याङक्वेट केटरिङ्ग एण्ड इभन्ट्स भाटभटेनी काठमाडौंमा बिहान १० बजेदेखि सभा बस्दैछ।
कुथेली बुखरी स्मल हाइड्रोपावरले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्दैछ। उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौं ब्याङ्क्वेट नयाँबानेश्वर, काठमाडौंमा सभा बस्दैछ।
आरएसडिसी लघुवित्तले ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्नेछ। यसका लागि पुस २९ गते वेष्टर्न एशियन होटल बुटवलमा बिहान साढे ९ बजेदेखि सभा बस्दैछ।
मिथिला लघुवित्तले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्दैछ। यो लाभांश पारित गर्न पुस २८ गते कोमल होटल ढल्केवर, धनुषमा बिहान ११ बजेदेखि सभा बस्दैछ।