विद्युतीय सवारीमा चुलिँदो क्रेजः पाँच महिनामा ११ अर्बको ईभी गाडी आयात, पेट्रोलियम सवारीको अवस्था कस्तो?
काठमाडौँ । नेपालमा विद्युतीय सवारी (ईभी) को प्रयोग र आयात तीव्र गतिमा बढिरहेको छ । आवश्यक पूर्वाधार निर्माणसँगै नेपाली उपभोक्ताहरू विद्युतीय सवारीतर्फ आकर्षित हुँदै आएका छन् । सार्वजनिक यातायातका ठूला विद्युतीय गाडीसमेत आयात हुने क्रम जारी छ ।
विद्युतीय गाडी मुख्यतः छिमेकी मुलुक चीन, भारतका साथै जर्मनी, अमेरिका, दक्षिण कोरिया र इन्डोनेसियाबाट आयात हुने गरेका छन् । हाल नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमतासम्मका गाडी भित्रिएका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा मात्र ११ अर्ब २७ करोड २१ लाख रुपैयाँका ४ हजार ६९७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । यसबाट सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
भन्सार विभागका तथ्यांकअनुसार सबैभन्दा धेरै विद्युतीय सवारी चीनबाट आयात भएका छन् । कुल ३ हजार ५८९ वटा सवारी चीनबाट भित्रिएका छन्, जसले ७६.४१ प्रतिशत हिस्सा ओगटेको छ । तीमध्ये ५० किलोवाटभन्दा कम क्षमताका ८५४ वटा, ५१–१०० किलोवाट क्षमताका २ हजार २९७ वटा, १०१–२०० किलोवाट क्षमताका ४६० वटा र ३०० किलोवाटभन्दा बढी क्षमताका २ वटा गाडी रहेका छन् ।
भारतबाट आयात भएका गाडीहरूको संख्या १ हजार ९६ रहेको छ । तीमध्ये ५० किलोवाटसम्मका ६३६ वटा र ५१–१०० किलोवाट क्षमताका ४६० वटा गाडी छन् । अन्य मुलुकहरूमध्ये जर्मनीबाट ९ वटा, अमेरिकाबाट १ वटा र दक्षिण कोरियाबाट १ वटा गाडी आयात भएका छन् ।
नेपाली बजारमा बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा जस्ता चिनियाँ ब्रान्डहरूसँगै टाटा, हुन्डाइ, महिन्द्रा, कियालगायत भारतीय ब्रान्ड लोकप्रिय छन् । ५०–१०० किलोवाट क्षमताका गाडीहरूमा नेपाली उपभोक्ताहरूको आकर्षण उच्च छ ।
विभागका अनुसार ५१ देखि १०० किलोवाट क्षमताका भएका ईभी धेरै नेपालमा भित्रिएका छन् । पछिल्लो पाँच महिनामा ५१ देखि १०० किलोवाट क्षमताका २ हजार ७५७ वटा गाडी नेपाल आयात भएका हुन् । यसैगरी, ५० किलोवाटसम्मका १ हजार ४९० वटा, १०१ देखि २०० किलोवाटसम्मका ४४३ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ५ वटा र ३ किलोवाटभन्दा धेरै क्षमता भएका २ वटा ईभी नेपाल आयात भएका हुन् ।
देशका मुख्य राजमार्गको बढीमा ६० किलोमिटर आसपासमा अहिले चार्जिङ स्टेसनको नेटवर्क विस्तार भइसकेको हुँदा ईभीको आयात समेत बढ्दो क्रममा रहेको एक ब्यवसायीले बताए । सुरुवातमा ग्राहकहरूलाई चार्जिङ स्टेसनको चिन्ताभएपनि बिस्तारै वातावरण भन्दै जाँदा नेपालीमा ईभी आयात बढेको उनलको भनाइ छ । भने, ‘सुरुवातमा चार्ज लगाउन कता जाने के गर्न भन्ने चिन्ता दियो । तर, पछिल्लो समय चार्जिङ स्टेसन आक्रामक रूपमा विस्तार भएको छ । अब ग्राहकहरू ढुक्क छन् । ईभीमय वातावरण बनाउन पनि सरकार सक्रिय भइरहेको छ ।’
विद्युतीय गाडीहरूको बढ्दो प्रयोगले पेट्रोलियम सवारीसाधनहरूको आयातमा पनि असर देखिन थालेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १ अर्ब ७२ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरका १ हजार ४३७ पेट्रोलियम सवारीसाधन आयात भएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा थोरै मात्र बढेको छ ।
गत आर्थिक वर्षभरि २ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ मूल्यका २ हजार ४८८ पेट्रोलियम सवारीसाधन आयात भएका थिए । ती सवारीसाधनबाट सरकारले ७ अर्ब ७ करोड ३३ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो ।
के विद्युतीय कारका ब्याट्री छिट्टै बिग्रन्छन् ? यस्तो छ तथ्य