साधारण सभा सम्पन्न गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो सूर्यज्योति लाइफ
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवन बीमा मध्य सबैभन्दा पहिला साधारण सभा सम्पन्न गर्ने कम्पनी बनेको छ । नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र अघिल्लो वर्षको साधारण सभा गरि सक्नु पर्ने प्रावधान छ । यहि प्रावधानमा रहि सूर्यज्योति लाइफले १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
कम्पनीले आफ्नो १७औं वार्षिक साधारणसभा विराटनगरस्थित बिग होटलमा भव्य रूपमा सम्पन्न गरेको छ । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले रेका थिए । सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तावित २० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा भएका खर्चहरूलाई अनुमोदन गर्नुका साथै, सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको रूपमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ ।
सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू गरेको छ । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू, र नवीन सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय शेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ र कम्पनीका कर्मचारीहरूको मेहनतलाई दिए ।
साधारणसभाका दौरान, शेयरधनीहरूले कम्पनीप्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए । सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिले पारित गरिएका छन् । कम्पनीले आफ्नो सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता दोहोर्याएको छ ।