बीमा क्षेत्रमा नयाँ शैलीको नियमन गर्ने अध्यक्ष दाहालको उद्घोष

५ पुष २०८१, शुक्रबार १८:१६

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका कामु अध्यक्ष मदन दाहालले बीमा क्षेत्रको विकास र सुधारका लागि प्राधिकरण तत्पर रहेको बताएका छन् । काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार आयोजना गरेको ‘नेपालको बीमा क्षेत्रका चुनौती समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा अध्यक्ष दाहालले आफ्नो कार्यकालमा बीमा क्षेत्रमा नयाँ शैलीको नियमन गर्ने उद्घोष गरेका हुन् ।

दाहालले बीमा प्राधिकरणबाट प्रमुख कार्यकारी अधिकृत नियुक्तिपछि स्वीकृत लिनुपर्ने नियम खारेज गरेको घोषणा गरे । ‘आइन्दा सीईओ नियुक्ति पश्चात प्राधिकरणलाई जानकारी मात्र दिए हुन्छ । स्वीकृतिको आवश्यकता छैन’ उनले भने, ‘यस निर्णयले बीमकको हितलाई ध्यानमा राखेर प्रक्रिया सरल बनाउने उद्देश्य राखेको छ ।’

अध्यक्ष दाहालले बीमितको हितमा डिजिटल दाबी भुक्तानी प्रणाली ल्याउने निर्णयको जानकारी पनि दिए । उनले भने, ‘बीमा प्रिमियम डिजिटल मार्फत बुझाउन सकिन्छ, तर दाबी भुक्तानीको लागि शाखा कार्यालय धाउनुपर्ने बाध्यता छ । अब सिधै बीमितको खातामा भुक्तानी गर्नुपर्नेछ । दाबी भुक्तानी समेत डिजिटल गर्नुहोला ।’

दाहालले बीमाको दायरा विस्तारमा जनचेतनाको कमीलाई प्रमुख चुनौतीको रूपमा प्रस्तुत गरे । ‘मूलतः बजारमा जनचेतनाको अभावले बीमाको दायरा वृद्धि गर्न सकेको छैन । यसलाई सुधार्नका लागि बीमा कम्पनीहरूले प्रचार प्रसार गर्नुपर्छ’ उनले भने।

सरेन्डरको समस्या उठाउँदै दाहालले यो केवल व्यक्तिको कारण नभई कम्पनीको कारण पनि रहेको बताए । उनले यस समस्यालाई घटाउनका लागि बीमा कम्पनीहरूको सक्रियता आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘सरेन्डर घटाउन बीमा कम्पनीहरुले भुमिका खेल्नुपर्ने छ । सबै कुरालाई सुक्ष्म रुपले अध्ययन गरौं । यसलाई घटाउन बीमा प्राधिकरणको सहयोग हुन्छ ।’

संस्थागत सुशासनमा ख्याल राख्नका लागि दाहालले निर्देशन दिएका छन् । ‘हामीले आफ्नो काम कर्तव्य पूर्ण रूपमा र सहि ढंगले गर्नु पर्छ’ उनले भने । यसका साथै, श्रम ऐनको कार्यान्वयनमा समस्या आउने क्रममा कर्मचारीको योगदानको महत्त्वमा जोड दिएका छन् ।

बीमा क्षेत्रको प्रतिस्पर्धा र त्यसको व्यवस्थापनका बारेमा दाहालले भने, ‘बीमा कम्पनीहरूबीचको प्रतिस्पर्धालाई सकारात्मक दिशामा व्यवस्थीत ढंगले प्रयोग गर्नुहोस्। यसले बीमितको हितमा राम्रो परिणाम ल्याउँछ ।’

प्राधिकरणको कार्यक्षमता सुधारका लागि दाहालले सबै कम्पनीहरूलाई रेटिङ गर्ने योजना राखेको बताएका छन् । ‘प्राधिकरणले सबै प्रक्रियालाई ध्यानमा राख्दै रेटिङ गर्नेछ र कुनै कमजोरी भए कारबाही गरिनेछ’ उनले थपे । उनले कुनै पनि बीमा कम्पनीमाथि कारबाही गर्न नपरोस भन्ने चेतावनी पनि दिएका छन् । नयाँ बीमा लाइसेन्सको हल्ला नफैलाउनु पर्ने कुरामा पनि दाहालले स्पष्ट पारे ।

उनले बीमितलाई सक्रिय गराउनका लागि तालिम आवश्यक रहेको तर्क राखे । उनले भने, ‘बीमा क्षेत्रका अभिकर्ता र सर्भेयरहरूको लाइसेन्स नविकरण अघि अनिवार्य तालिम सञ्चालन गर्नुपर्नेछ । यसले कर्मचारीको क्षमता अभिवृद्धि गर्नेछ र बीमा क्षेत्रलाई सुधारमा मद्दत पुर्याउनेछ ।’

बीमा सर्भेयर र अभिकर्ताले निश्चित समय तालिम नलिएसम्म लाइसेन्स नविरण नहुने ब्यवस्था प्राधिकरणले गर्ने लागेको दाहालले जानकारी दिए । उनले भने, ‘लाइसेन्स लिने । मन लागे बीमा गर्ने नत्र दिनभरी सुतेर हुने हुँदैछ । संख्या मात्र बढाएर हुँदैन । परिणम दिने गरी काम गर्नु जरुरी छ ।’

दाहालले अर्थमन्त्रालयसँग लबिङ गरेर बीमा क्षेत्रको सुधारका लागि कदम उठाउने तयारी व्यक्त गरे । उनले भने, ‘बीमा क्षेत्रको सुधारका लागि सबैको सहकार्य आवश्यक छ, र यसले बीमा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सक्छ ।’

अध्यक्ष दाहालको सबैकको सहकार्यले नेपाली बीमा क्षेत्रको दायरा वृद्धि र सुधारका लागि नयाँ दिशा दिने विश्वास व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*