कर्मचारीहरुको क्षमता अभिवृद्धिमा बीमा कम्पनीहरुले पर्याप्त ध्यान दिएका छन्ः अध्यक्ष चंकी क्षेत्री
काठमाडौँ । नेपाल बीमा संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा क्षेत्रका कर्मचारी तथा सर्भेयरहरुलाई कुनै पनि समस्या परेको अवस्थामा समाधानको लागि आफ्नो ढोका सधै खुल्ला रहेको बताएका छन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको बीमा क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा बोल्दै कर्मचारी तथा सर्भेयरहरुको क्षमता अभिवृद्धिमा बीमक संघ तयार रहेको बताएका हुन् ।
नेपालको सन्दर्भमा सर्भेयरहरुको फि कुनै पनि हिसावले कम नरहेको उनको भनाइ छ । ‘सर्भेयरहरुबाट आफ्नो फि कम भएको भनेर धैरै गुनासोहरु आएका छन् ।’ उनले भने, ‘सार्कका देशहरुको तुलनामा नेपाली सर्भेयरहरुलाई उपलब्ध भैरहेको फि कुनै पनि हिसावले कम रहेको छैन्।’
‘नेपाली बीमा कम्पनीहरुले आफ्नो कर्मचारी नियमावली बीमा प्राधिकरणको पठाएको हुन्छ। कर्मचारीहरुले आफ्नो कम्पनीले दिएको छुट्टी, सेवा सुविधा तथा विभिन्न तालिमहरुको तालिकाबारे बुझ्न सकिन्छ । आफ्नो कम्पनीको सेवा सुविधा कम भएमा बढाउन पहल गर्नुस् र आफ्नो पनि सेवा प्रवाहमा बृद्धि गर्न आवश्यक छ।’
साथै, उनले कर्मचारीहरुलाई स्कीम पुरा मोटरसाइकल पाइन्छ, कार पाइन्छ भन्ने हिसावले टार्गेट पुरा गर्नुभन्दा पनि आफ्नो स्कील तथा क्षमता बढाउन सुझाव दिएका छन् । उनले भने, ‘कम्पनीहरुले कर्मचारीहरुलाई विभिन्न तालिम दिनु भनेको आफ्नो सम्पत्ति बढाउनु हो। किनकी भोलि तालिम प्राप्त कर्मचारी भएको अवस्थामा कम्पनीलाई नै फाइदा हुन्छ।’
‘दावी भुक्तानीलाई बीमा कम्पनीहरुले विशेष प्राथमिकता दिएको छ । सर्भेयरहरुले पनि घटनाको सही र चाँडो अवस्थामा डाटा संकलन गरी भेरिफाइड गरेको सहजै दावी भुक्तानी दिन सकिन्छ।’