होन्डा र निसान मर्जरको तयारीमाः टोयोटा, सुबारु र सुजुकीलाई चुनौती, त्रसित टेस्ला र बिवाईडि

४ पुष २०८१, बिहीबार १२:०४

काठमाडौँ । होन्डा र निसानबीच मर्जरको सम्भावित तयारी भइरहेको छ, जसले जापानी अटोमोबाइल उद्योगलाई पुनर्संरचना गर्दै टोयोटालाई घरेलु बजारमा प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्ने नयाँ शक्ति केन्द्र बनाउने संकेत गरेको छ । दुवै कम्पनीका अधिकारीहरूले मर्जर, पुँजीगत साझेदारी वा नयाँ होल्डिङ कम्पनी स्थापना जस्ता विकल्पहरूमाथि छलफल गरिरहेको जनाइएको छ ।

मर्जरको खाका तयार गर्न सुरु गरिएको प्राथमिक छलफलमा मित्सुबिसी मोटर्सलाई समेत समावेश गर्ने सम्भावना रहेको छ, किनकि यो कम्पनी पहिले नै निसानसँग पुँजीगत सम्बन्धमा आबद्ध छ । यद्यपि, यो प्रक्रिया प्रारम्भिक चरणमै रहेको र कुनै ठोस सहमति नजुट्न सक्ने सम्भावना रहेको बताइएको छ ।

यो सम्भावित मर्जरले जापानी अटो उद्योगलाई दुई ठूला खेमामा विभाजन गर्नेछ। एकातिर होन्डा, निसान र मित्सुबिसीको गठजोड भने अर्कोतर्फ टोयोटा समूहले सुबारु, सुजुकी र माज्दाजस्ता ब्रान्डहरूको शक्ति प्रयोग गर्दै आफ्नो नेतृत्वलाई बलियो बनाउन प्रयास गर्नेछ । यदि, होन्डा र निसान बीचको यो साझेदारीले आकार लिएमा ज्वाइन्ट भेन्चरले अटो वर्ल्डलाई नयाँ संरचना दिनेछ। होन्डा र निसानको संयुक्त मर्जरले ७.४ मिलियन गाडीहरूको वार्षिक उत्पादनको साथ ५४ बिलियन कम्पनी सिर्जना गर्नेछ ।

यो सहकार्यले दुवै कम्पनीलाई विद्युतीय सवारी साधन र सफ्टवेयर जस्ता क्षेत्रमा थप स्रोत र साधन उपलब्ध गराउन सक्छ। होन्डा र निसान यसअघि नै विद्युतीय सवारी साधनको ब्याट्री र सफ्टवेयर विकासमा सहकार्य गरिसकेका छन् ।

टोयोटा जसले सुबारु, सुजुकी र माज्दामाथि पुँजीगत लगानी गरिसकेको छ, अहिले नै जापानको सबैभन्दा ठूलो अटोमोबाइल निर्माता हो । यसको तुलनामा होन्डा र निसानको संयुक्त बजार मूल्य टोयोटाको बजार मूल्यभन्दा धेरै कम छ ।

मर्जर भएमा, होन्डा र निसानले संयुक्त रूपमा टोयोटालाई घरेलु बजार र अन्तर्राष्ट्रिय बजारमा चुनौती दिने नयाँ सामूहिक शक्ति निर्माण गर्न सक्छन् । टेस्ला र बिवाईडि जस्ता कम्पनीपनि होन्डा र निसानको मर्जरलाई दिएर त्रसित भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*