एनआईसी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन भएको छ। सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयमा निर्मित पुस्तकालयको उद्घाटन गरिएको हो।
मंसिर २७ गते सम्पन्न उक्त कार्यक्रम विद्यालयलाई अध्ययन–अध्यापनमा आवश्यक सामग्री उपलब्ध गराई उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले गरिएको बैंकले जनाएको छ।
उद्घाटन समारोहमा भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव, बैंकका मधेश प्रदेश–६ का प्रमुख शंकर ढकाल र विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यो पुस्तकालय सञ्चालनमा आएसँगै विद्यालयका ११ सयजना भन्दा बढी विद्यार्थी र शिक्षक–शिक्षिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकले बताएको छ।
बैंकले यसअघि पनि विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय निर्माण गरी हस्तान्तरण गरिसकेको छ। यस अन्तर्गत तनहुँ, कैलाली, झापा, पर्सा, रुपन्देही र चितवन जिल्लाका विद्यालयहरूमा पुस्तकालय सञ्चालनमा आएका छन्।
यी परियोजनाहरूका लागि बैंकले २ करोड ५ लाख ३० हजार रुपैयाँ बजेट छुट्याएको छ। बैंकले निर्माण गरिएका पुस्तकालयहरूबाट ११ हजार जना भन्दा बढी विद्यार्थीले लाभ लिने र शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास बैंकले लिएको छ।