इन्साइडर ट्रेडिङमा दोषी बोटलर्स नेपालसँग नेप्सेले टेक्यो घुँडा

३ पुष २०८१, बुधबार १६:२९

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालसँग अनुशासन कायम गराउन असफल भएको छ। इन्साइडर ट्रेडिङको आरोपमा मंगलबार (पुस २ गते) शेयर कारोबार रोक्का गर्दै स्पष्टिकरण माग गरेको नेप्सेले कम्पनीले सामान्य रूपमा गल्ती भएको भनी दिएको जवाफलाई आधार मान्दै कारबाही फुकुवा गरेको हो ।

बोटलर्स नेपालले मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकमा लाभांश वितरण नगर्ने निर्णय गरेको थियो। यस्तो महत्वपूर्ण निर्णय धितोपत्र सूचीकरण विनियमावली, २०७५ को दफा २२ (१) अनुसार सोही दिन वा कारोबार खुल्नुअघि नेप्सेमा सूचित गर्नुपर्ने प्रावधान हुँदाहुँदै, कम्पनीले निर्णय एक महिनापछि मात्र पुस २ गते नेप्सेलाई जानकारी गराएको थियो।

नेप्सेले कम्पनीको यस्तो ढिलासुस्तीलाई गम्भीर रूपमा लिँदै, धितोपत्र कारोबार रोक्का गर्ने कदम चाल्नुअघि इन्साइडर ट्रेडिङका कारण सर्वसाधारण लगानीकर्ताहरू मुनाफाबाट वञ्चित भएको सम्भावनालाई औंल्याएको थियो। तर, बोटलर्स नेपालले गल्ती स्विकार्दै आगामी दिनमा यस्ता त्रुटि नदोहोर्‍याउने प्रतिबद्धता मात्र व्यक्त गर्दा, नेप्सेले कुनै थप कारबाही नगरी कारोबार फुकुवा गरेको छ।

यो निर्णयले नेप्सेको नियमन क्षमतामा गम्भीर प्रश्न खडा गरेको छ। लगानीकर्ताहरूले कम्पनीलाई प्रावधानविपरीत काम गर्दा समेत स्पष्टिकरणका नाममा सजिलै उम्कन दिनु नेप्सेको कमजोरी भएको टिप्पणी गरेका छन्।

बोटलर्स नेपालको संचालक समितिको लाभांशसम्बन्धी निर्णयलगत्तै सीमित लगानीकर्ताहरूले मात्र यसबारे जानकारी राख्दै शेयर कारोबार गरेका हुन् भन्ने आरोप उठेको छ। तर, यस्तो गम्भीर विषयलाई नेप्सेले कानूनी रूपमा व्याख्या गर्ने ठाउँमा सामान्य गल्तीका रूपमा बुझेर माफी दिनु नियामक निकायको निष्पक्षतामा प्रश्न उठाउन पर्याप्त छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ ले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै दिनुपर्ने स्पष्ट प्रावधान गरेको छ। नेप्सेले पनि कम्पनीलाई उक्त नियम उल्लङ्घन गरेको ठहर गर्दै ३ कार्य दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो। यद्यपि, कम्पनीको सामान्य उत्तरलाई नै कारबाही फुकुवाको आधार बनाउनुले नेप्सेले आफ्नो नियामक भूमिकामा कठोरता देखाउन नसकेको तथ्य उजागर भएको छ।

नेप्सेले बोटलर्स नेपाललाई माफी दिएसँगै लगानीकर्ताबीच विश्वास संकट उत्पन्न भएको छ। “धितोपत्र बजारको पारदर्शितामा आँच पुग्ने काम भइरहेको छ। नेप्सेले प्रावधान लागू गर्न सक्ने हैसियत देखाएको छैन,” एक लगानीकर्ताले टिप्पणी गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*