हुन्डी कारोबारमा संलग्न ४ जना काठमाडौंमा पक्राउ, ६८ लाख रुपैयाँसहित कार बरामद
काठमाडौँ। राजधानीमा अवैध हुन्डी कारोबारमा संलग्न चार व्यक्तिलाई ६८ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको शम्भुमार्ग क्षेत्रमा विशेष सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूमा काठमाडौं महानगरपालिका–३२ का ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वरका १८ वर्षीय आवाद सिंह, झापाको विर्तामोडका २७ वर्षीय युवराज सुवेदी र अर्जुनधाराका ३२ वर्षीय प्रवेशकुमार पौडेल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट नगदबाहेक पाँच थान चेक, पाँच थान मोबाइल, र प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको कार पनि बरामद गरिएको छ।
अवैध वित्तीय कारोबारको आरोपमा पक्राउ परेका यी व्यक्तिहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।