सोल्टी होटल र निफ्राको साधारणसभा भोलि बस्दै
काठमाडौं । भोलि पुस ४ गते सोल्टी होटल लिमिटेड र नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को वार्षिक साधारणसभा बस्दैछ। कम्पनीले विभिन्न प्रस्तावहरू पारित गर्न छुट्टाछुट्टै स्थानमा सभा बोलाएका हुन्।
सोल्टी होटल
यस होटलले शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर २६.८४२१०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सभा बस्दैछ।
साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक टुङ्ग्याउनुका साथै सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश गर्नेछ।
सभा प्रयोजनार्थ यस होटलले मंसिर १३ गतेदेखि बुक क्लोज गरिसकेकाले मंसिर १२ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
निफ्रा
यस बैंकको साधारणसभा काठमाडौंको बबरमहल हाइटस्थित कार्की ब्याङ्केटमा बिहान ९ बजेदेखि बस्दैछ। बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ।
बैंकले गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिकको निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
सभा प्रयोजनार्थ यस बैंकले मंसिर २१ गते बुक क्लोज गरिसकेकाले मंसिर २० गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।