घरजग्गा कारोबारबाट मङ्सिरमा ३ अर्ब ८७ करोड राजस्व सङ्कलन

३ पुष २०८१, बुधबार ११:०६

काठमाडौँ । देशभर गत मङ्सिर महिनामा घरजग्गा कारोबारबाट सङ्कलन हुने राजस्वमा उल्लेख्य वृद्धि भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार मङ्सिरमा तीन अर्ब ८७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ, जुन अघिल्लो कात्तिक महिनाको तुलनामा झण्डै एक अर्ब १७ करोड रुपैयाँले बढी हो।

गत कात्तिक महिनामा दुई अर्ब ७० करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको थियो। यस अवधिमा देशभर ४३ हजारभन्दा बढी घरजग्गा कारोबार भएको विभागले जनाएको छ। अघिल्लो कात्तिकमा भने ३३ हजारभन्दा कम कारोबार मात्र भएको थियो।

काठमाडौँ उपत्यकाका मालपोत कार्यालयहरूमध्ये लगनखेल मालपोत कार्यालयले सबैभन्दा धेरै ३३ करोड ९५ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। यसैगरी, कलङ्की कार्यालयले २६ करोड ५७ लाख रुपैयाँभन्दा बढी, चाबहिल कार्यालयले २२ करोड ५८ लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको छ। अन्य कार्यालयहरूमा साँखु, मनमैजु, र टोखा कार्यालयहरूले पनि ७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेका छन्।

उपत्यका बाहिर हेर्दा, चितवन मालपोत कार्यालयले ३५ करोड ९८ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने विराटनगर कार्यालयले १० करोड ४९ लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको छ।

विभागका अनुसार मङ्सिरमा सेवा करबाट मात्रै २६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। यसका साथै, दुई अर्ब ६३ करोड रुपैयाँभन्दा बढी रजिष्ट्रेशन दस्तुर र एक अर्ब ३१ करोड रुपैयाँभन्दा बढी पुँजीगत लाभकर सङ्कलन गरिएको छ।

यसले मङ्सिर महिनामा घरजग्गा कारोबार र यसबाट हुने राजस्व वृद्धि सकारात्मक रहेको देखाउँछ। राजस्व सङ्कलनमा यो वृद्धिले सरकारी आम्दानीमा थप योगदान गरेको विभागको ठम्याइ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*