मादीमा ४३ मेगावाटको जलविद्युत् आयोजनाः ६ बैंकको ५.६८ अर्ब लगानी
काठमाडौँ । कास्कीको मादी गाउँपालिकामा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको अपर मादी–० खोला जलविद्युत् आयोजनामा छवटा बैंकले सामूहिक रूपमा ऋण लगानी गर्ने भएका छन्। सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्व र ग्लोबल आइएमई बैंकको सहअगुवाईमा अन्य चार बैंकले आयोजनाका लागि कूल ५ अर्ब ६८ करोड रुपैयाँ ऋण उपलब्ध गराउने सहमति गरेका हुन्।
सोमबार राजधानीमा आयोजित एक समारोहमा आयोजनाको प्रवर्द्धक अन्नपूर्ण पावर कम्पनी र बैंकहरूबीच औपचारिक रूपमा ऋण सम्झौता सम्पन्न भएको हो। अन्नपूर्ण पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) वरिष्ठ इन्जिनियर श्रीराम न्यौपाने र सिटिजन्स बैंकका डेपुटी सिइओ राजेन्द्रलाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे।
आयोजनाको कुल लागत ८ अर्ब १२ करोड रुपैयाँ अनुमान गरिएको छ। उक्त लगानीमध्ये ३० प्रतिशत रकम प्रवर्द्धक अन्नपूर्ण पावर कम्पनीले स्वपुँजीबाट जुटाउनेछ भने बाँकी ७० प्रतिशत ऋण स्वरूप बैंकहरूबाट प्राप्त हुनेछ। बैंकहरूमा सिटिजन्स बैंकले १ अर्ब ५० करोड, ग्लोबल आइएमई बैंकले १ अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब, लक्ष्मी सनराइज बैंकले ८५ करोड, नेपाल एसबिआई बैंकले ६० करोड र माछापुच्छ्रे बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन्।
अन्नपूर्ण पावर कम्पनीका अनुसार आयोजनाको निर्माण कार्य आगामी चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।