लुम्बिनी विकासको अमानविय हर्कतः ४३ लाख असुलीमा साढे १ करोडको सम्पत्ति झ्वाम, आत्माहत्याको बाटोमा ग्राहक

२ पुष २०८१, मंगलवार १५:४९

काठमाडौँ । ‘निरन्तर सहयात्रा’ स्लोगन बोकेर अघि बढिरहेको लुम्बिनी विकास बैंकले कर्जा असुलीको नाममा करोडौंको सम्पत्ति कौडीको भाउमा लिलाम गरेको छ । बैंकको स्लोगनले सहयात्रा र सहयोगको सन्देश दिन्छ । तर, बैंकको ग्राहक सहजिकरणभन्दा पनि सम्पत्तिमा आँखा गाढेर बसेको तथ्य बाहिर आएको छ ।

ग्राहकको कमजोर अवस्था फाइदा उठाउँदै बैंकले ४३ लाख असुलिको नाममा विरगञ्ज ११ रानीघाटकी बबिता सर्राफको करिब एक करोड ५० लाख पर्ने घरजग्गा सस्तो मूल्यमा लिलाम गरेको हो ।

तीन वर्षअघि बबिताका श्रीमानले सुन पसल सञ्चालन गर्न भन्दै लुम्बिनी विकास बैंकको पोखरिया शाखाबाट ३७ लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिदा रानिघाट ११ स्थित १० धुर जग्गा, त्यसमा बनेको घर र पोखरिया नगरपालिकामा रहेको ४ कट्ठा जग्गा धितो राखेका थिए । तीन वर्षको सावाँ र ब्याज बढेर ४३ लाख ७ हजार पुगेको थियो । सांवा र ब्याज नतिरेपछि बैंकले गत साउन अन्तिममा उक्त घरजग्गा लिलाम गरेको हो ।

बैंकले यसअघि ५३ लाख रुपैयाँमा मूल्यांकन गरेको घरजग्गा अहिले ५८ लाख पुनर्मूल्यांकन गरेको छ । तर रानिघाटको जमिन अहिले धुरकै १२ लाख रुपैयाँ पर्छ । यो हिसाबले मात्र गर्ने हो भने जग्गाको एक करोड २० लाख पर्छ । यता, पोखरियाको चार कट्ठा जग्गा र घर जोड्दा उक्त सम्पत्ति एक करोड ५० लाखसम्म पर्छ । तर, बैंकले कौडिको भाउमा उनको करोडौंको सम्पत्ति लिलाम गरेको हो । बैंकले जग्गा मूल्यांकन एकतर्फि तथा बबिताका श्रीमान घर नभएको अवस्थामा गरेको थियो । जसबाट बैंकको नियतमा खोज रहेको कुरा प्रष्ट हुन्छ ।

बैंकले घरजग्गा लिलाम गरेपछि बबिताको परिवारको टाउको लुकाउने ठाउँ समेत छैन । उनी अहिले सुकुम्बासी बन्नु परेको अवस्था छ । बैंकले उनका कलिला बालकहरुको मानव अधिकार हनन मात्र भएको छैन अमानविय हर्कत समेत गरिएको छ । जसले गर्दा बबिताले गत शुक्रबार आफुसहित आफ्ना दुई छोरीलाई पेट्रोल छर्किएर आत्माहत्याको प्रयास गरिन् ।

नेपालको संविधानले गास, बास र कपासलाई प्रत्येक नागरिकको आधारभूत अधिकारको रूपमा व्याख्या गरेको छ । गास, बाँस र कपास नै बैंकले खोसेपछि बबितालाई जीवन जीउनु अर्थ नै लागेन । जस कारण छोरीसहित उनले आत्माहत्याको प्रयास गरिन् ।

अमानवीय हर्कत देखाइ मानिसलाई मृत्युको बाटो देखाउने लुम्बिनी विकास बैंकको कर्जा असुली नीतिमा नै प्रश्न उठ्न थालेको छ । कर्जा दिनु अघि बैंकले सबै अवस्था हेरेर मात्र कर्जा दिनुको सट्टा हचुवाका भरमा सम्पत्ति नै लिलाम गर्नु नियतका साथ बैंकले कर्जा दिने गरेको देखिन्छ । कुनै व्यक्तिलाई कर्जा दिनु पूर्व बैंकले व्यवसायको प्रकृति, बजार लगायत भविष्यमा आइपर्ने मन्दिलाई समेत ध्यान दिनु पर्छ । तर, व्यक्तिको स्थिति भन्दा पनि सम्पत्तिमा आँखा गाढी रहेको लुम्बिनी विकास बैंकले हचुवाका भरमा ऋण दिने गरेको छ । जसले गर्दा भोलिका दिनमा कर्जा संकलनको नाममा मान्छेलाई मृत्युको बाटो देखाउने गरेको छ ।

बैंकका शाखा प्रमुख विकास चन्द्र उपाध्यायको नेतृत्वको उक्त शाखाले अमानवीय हर्कत देखाएको हो । बबिताका अनुसार वडा जनप्रतिनिधि र प्रहरी प्रशासनको मिलिमहत्वमा आफुलाई फसाउने काम भएको बताइकी छन् ।

बैंकले सेटिङ भरमा आफ्ना मान्छेलाई सस्तोमा घरजग्गा मिलाएको स्थानियहरुको आरोप रहेको छ । एक जना स्थानियले भने, ‘बैंकले प्रहरी र वडाका जनप्रतिनिधि बोकेर शुक्रबार साँझ बबितालाई घरबाट निकाल्ने काम गरिरहेको थियो । सोही बेला बबिताले मट्टीतेल खनाएर आफ्ना दुई छोरीसहित आफुले आत्महत्याको प्रयास गरिन् । स्थानियले रोके । पछि स्थानियको अवरोधपछि प्रहरी फिर्ता भयो । बबिताको घर सस्तो मूल्यमा बैंकले सेटिङमा मिलाएको भन्ने कुरा समेत आएको छ ।’

यस घटनाले लुम्बिनी विकास बैंकको कर्जा असुली नीति र मानव अधिकारको उल्लङ्घनको मुद्धा उठाएको छ । यसबारे बैंकसँग सम्पर्क गर्ने खोज्दा बैंक सम्पर्कमा नै आउन चाहेन ।

कर्जा असुलीका नाममा मान्छे मार्दै लुम्बिनी विकास बैंक, कलिला बालकसहित परिवारलाई बनायो सडकको वास

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*