लाभांश पारित गर्न लक्ष्मी सनराइज बैंकले बोलायो साधारणसभा
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चौबिसौं वार्षिक साधारणसभा पुस २४ गते बुधबार बोलाएको छ। बैंकको पुस १ गते बसेको सञ्चालक समतिको बैठकले काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजे सभा बोलाएको हो।
सभामा चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गरिनेछ। साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभाका लागि तय गरिएका छन्।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते बुधबार बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजका आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।