कर्जा असुलीका नाममा मान्छे मार्दै लुम्बिनी विकास बैंक, कलिला बालकसहित परिवारलाई बनायो सडकको वास
काठमाडौँ । लुम्बिनी विकास बैंकले कर्जा असुलीका नाममा अमानवीय व्यवहार देखाउँदै एक महिलालाई परिवारसहित सडकमा पु¥याएको घटना सार्वजनिक भएको छ । विरगञ्ज ११ रानीघाटकी बबिता सराफ र उनका दुई साना छोरी अहिले बासको खोजीमा खुला आकाशमुनि बस्न बाध्य छन् । बैंकले नियम र कानुनको आडमा बबिताको घर–जग्गा लिलामी गर्दै उनलाई सुकुम्बासी बनाएको छ ।
तीन वर्षअघि बबिताका श्रीमानले सुन पसल सञ्चालन गर्न भन्दै लुम्बिनी विकास बैंकको पोखरिया शाखाबाट ३७ लाख रुपैयाँ ऋण लिएका थिए । तर, व्यापारले गति लिन नसक्दा ऋण तिर्न असमर्थ भएपछि बैंकले धितोमा राखिएको घर र जग्गा लिलामी गर्यो । बैंकले लिलामीमार्फत ५२ लाख रुपैयाँमा जग्गा र घर कब्जा गरेको छ, जुन वास्तविक बजार मूल्यभन्दा निकै कम हो र बबिताको अनुसार, उनका सम्पत्तिहरूको बजार मूल्य १ करोडभन्दा बढी थियो, तर बैंकले मूल्यांकन कम गरेर आफ्नो स्वार्थपूर्ति गरेको आरोप लगाइएको छ ।
बैंकले धितो राखिएको सम्पत्तिको मूल्यांकन गर्दा बबिताका श्रीमान् घरमा नभएको बेला यो प्रक्रिया अघि बढाएको पिडितले बताएकी छन् । मूल्यांकन कम गराएर लिलामी गर्नुका साथै बैंकले प्रहरी र वडा जनप्रतिनिधिलाई प्रयोग गरी बबितालाई घर निकाला गराएको छ । स्थानीय प्रशासनसमेत बैंकको पक्षमा उभिँदा, बबिता र उनका छोरीहरू घरबाट बाहिरिन बाध्य भएका छन् ।
नेपालको संविधानले गास, बास र कपासलाई प्रत्येक नागरिकको आधारभूत अधिकारको रूपमा व्याख्या गरेको छ । तर, लुम्बिनी विकास बैंकको कर्जा असुलीका प्रक्रियाले यी अधिकारलाई पूर्ण रूपमा उल्लंघन गरेको छ । बबिता भन्छिन्, ‘मेरा साना छोरीलाई कता लैजाने? घरबास गराउने अर्को कुनै उपाय छैन । बैंकले मेरो आधारभूत आवश्यकता नै खोसिदियो।’
बैंकले आफ्नो कदम कानुनी रूपमा सहि रहेको दाबी गरे पनि यो प्रक्रिया नै मानवताविरोधी रहेको पिडितको भनाइ छ । बबिताले बैंक र वडा अध्यक्षको मिलेमतोमा आफूलाई अन्याय गरिएको बताएकी छन् । उनका अनुसार, बैंकले वास्तविक बजार मूल्यभन्दा निकै कम मूल्यांकन गरेर सम्पत्ति कब्जा गरेको छ ।
लुम्बिनी विकास बैंकको यो कठोर र अमानवीय कर्जा असुली प्रक्रियाले पिडितलाई आत्महत्या गर्न बाध्य पार्न खोजेको देखिन्छ । बबिताले मट्टीतेल हालेको घटनाले यो विषयलाई झनै गम्भीर बनाएको छ । बैंकले कर्जा असुलीका नाममा मानवताको कुनै ख्याल नगरी, कमजोर आर्थिक अवस्थाका परिवारलाई सडकमा पु¥याउन कत्ति पनि पछि हटेको छैन ।
यस घटनाले नेपालमा बैंकहरूको कर्जा असुली विधि र त्यसले मानव जीवनमा पार्ने प्रभावमाथि गम्भीर प्रश्न उठाएको छ । कुनै पनि व्यक्तिले कर्जा तिर्न नसकेकै कारण उसको जीवनका आधारभूत आवश्यकता खोसिनु कत्तिको न्यायसंगत हो? नेपालको नियामक निकायहरूले यस्तो घटनालाई किन रोक्न सकिरहेका छैनन ? अहिले प्रश्न उठि रहेका छन् ।
बैंकले आफ्नो ग्राहकको भलाइभन्दा पनि नाफा मात्र हेर्ने दृष्टिकोण अपनाएको देखिन्छ । बैंकले मानवता भन्दा कर्जा असुलीलाई माथि राखेर मान्छे मार्ने काम गर्दै आइरहेको छ ।