विकास निर्माणले गति नपाउँदा बैंकिङ लगानी सुस्तः चार महिनामा १ खर्ब ८७ अर्ब कर्जा, कुन बैंकको कति?

१ पुष २०८१, सोमबार १३:५०

काठमाडौं । आर्थिक मन्दीका कारण निर्माण क्षेत्रमा बैंकहरूको लगानी अपेक्षाकृत रूपमा सुस्त देखिएको छ । देशभर विकास निर्माणका कामहरू रोकिएका कारण बैंकहरूले निर्माण क्षेत्रमा प्रवाह गर्ने कर्जा पनि खासै वृद्धि हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा २० वाणिज्य बैंकहरुले निर्माण क्षेत्रमा कुल १ खर्ब ८७ अर्ब ९० करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७१ प्रतिशत मात्र बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूले १ खर्ब ८१ अर्ब १७ करोड रुपैयाँ लगानी गरेका थिए ।

निर्माण गतिविधि सुस्त हुँदा सडक, पुल, भवन, जलविद्युत् आयोजना जस्ता ठूला पूर्वाधारमा लगानी बढ्न सकेको छैन । निजी क्षेत्रले समेत अपेक्षाकृत रूपमा लगानी गर्न नसकेको देखिएको छ । निर्माण व्यवसायीहरूले सरकारबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाउँदा ऋणको साँवा र ब्याज भुक्तानी गर्नै गाह्रो परेको गुनासो गर्दै आइरहेका छन् । जस कारण निर्माण क्षेत्रमा जाने कर्जा प्रवाह समेत निरन्तर सुस्त बन्दै गएको हो ।

चालु आवको पहिलो चार महिनामा धेरै बैंकहरूले यस क्षेत्रमा सामान्य मात्र कर्जा प्रवाह गरेका छन् । तर, केही बैंकहरूले आफ्नो लगानी घटाएका छन् । ७ बैंकले निर्माण क्षेत्रमा गर्ने लगानी घटाउँदा १३ बैंकले बढाएका हुन् ।

यसअवधिमा सबैभन्दा बढी निर्माण क्षेत्रमा कर्जा लगानी गर्ने बैंकमा नबिल रहेको छ । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नबिल बैंकले २४ अर्ब १२ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १७.३० प्रतिशतले बढी हो ।

रकम दश लाखमा

लक्ष्मी सनराइज बैंक निर्माण क्षेत्रमा सर्वाधिक लगानी गर्ने दोस्रो स्थानमा छ, जसले १८ अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ । तर, उक्त लगानी गत आर्थिक वर्षको तुलनामा ३८.४६ प्रतिशतले कम हो ।

यसैगरी, निर्माण क्षेत्रमा कुमारी बैंकले १७ अर्ब ४६ करोड, एनआइसी एशिया बैंकले १६ अर्ब ६५ करोड, प्रभू बैंकले १४ अर्ब १ करोड, कृषि विकास बैंकले १२ अर्ब ६४ करोड, सिटिजन बैंकले १२ अर्ब ४३ करोड, प्राइम बैंकले ११ अर्ब ४९ करोड, स्टान्डर्ड चाटर्ड बैंकले ८ अर्ब २० करोड र ग्लोबल आइएमई बैंकले ८ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

चालु आर्थिक वर्षको चार महिनामा माछापुच्छे बैंकले ७ अर्ब १८ करोड, सानिमा बैंकले ७ अर्ब ८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ अर्ब ५ करोड, एनएमबि बैकले ५ अर्ब, सिद्धार्थ बैंकले ४ अर्ब ६७ करोड, एभरेष्ट बैंकले ३ अर्ब ३३ करोड, आरबिबिले ३ अर्ब, नेपाल बैंकले २ अर्ब ९५ करोड, हिमालयन बैंकले २ अर्ब र नेपाल एसबिआई बैंकले १ अर्ब ७१ करोड रुपैयाँ निर्माण क्षेत्रमा कर्जा प्रवाह गरेका हुन् ।

निर्माण क्षेत्रमा लगानीको अभावले ठूला पूर्वाधार परियोजनाहरू अलपत्र परेका छन्। सरकारले व्यवसायीहरूलाई समयमै भुक्तानीको व्यवस्था गर्न नसक्दा बैंकहरूको लगानी घटिरहेको र आर्थिक गतिविधि ठप्प भएको छ। जसले गर्दा बैंकिङ लगानी समेत घट्दो क्रममा रहेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*