पाँच महिनामा सरकारको खर्च र आम्दानी दुवैमा कमजोरी, विकास खर्च अझै सुस्त
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को प्रारम्भिक पाँच महिनामा सरकारको आम्दानी र खर्च दुबै पक्ष कमजोर देखिएको छ। मङ्सिर मसान्तसम्म सरकारले वार्षिक राजस्व लक्ष्यको २७.५७ प्रतिशत मात्र सङ्कलन गरेको छ भने कुल बजेटको ३० प्रतिशत हाराहारीमा मात्रै खर्च गर्न सकेको छ।
महालेखा नियन्त्रकको कार्यालयका तथ्याङ्क अनुसार पुँजीगत खर्च अझै सुस्त गतिमा रहेको छ। चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन भएकोमा पाँच महिनामा केवल ११.५८ प्रतिशत अर्थात् ४० अर्ब ८० करोड ६ लाख रुपैयाँ मात्र खर्च भएको छ।
चालु खर्च शीर्षकमा भने केही सुधार देखिएको छ। चालु शीर्षकका लागि ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएकोमा मङ्सिर मसान्तसम्म ३१।८७ प्रतिशत अर्थात् ३ खर्ब ६३ अर्ब ५५ करोड १४ लाख रुपैयाँ खर्च भएको छ।
वित्तीय व्यवस्था शीर्षकमा ४१.३२ प्रतिशत खर्च भएको देखिएको छ। यो शीर्षकमा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ छुट्याइएकोमा हालसम्म १ खर्ब ५१ अर्ब ७६ करोड ५७ लाख रुपैयाँ खर्च भइसकेको छ।
राजस्व सङ्कलनको पक्षमा सरकारको लक्ष्य १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ भए पनि मङ्सिर मसान्तसम्ममा मात्र ४ खर्ब ५ अर्ब ७७ करोड ३० लाख रुपैयाँ उठाउन सकेको छ। यसले चालु आर्थिक वर्षको राजस्व संकलनमा चुनौती देखिएको संकेत गर्छ।
यसवर्ष सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको भए पनि मङ्सिर मसान्तसम्म कुनै पनि अनुदान प्राप्त भएको छैन।
अर्थतन्त्रको गतिलाई थप द्रुत बनाउन र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारको खर्च र राजस्व संकलन दुबै पक्षलाई सबल बनाउनुपर्ने आवश्यकता रहेको विशेषज्ञहरू बताउँछन्।