गार्डियन माइक्रो लाइफको आइपीओमा २४ करोड रुपैयाँ संकलन, मागभन्दा १०.६८ गुणाबढी आवेदन
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २४ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज (पुष १ गते) बिहान १०ः०६ बजेसम्म ४४ हजार २१ जनाले २४ लाख ४ हजार ३४० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १०.६८ गुणा बढी आवेदन हो ।
कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।