बीमा कम्पनीहरुको कूल लगानी साढे ८ खर्ब नजिक, कुन क्षेत्रमा कति लगानी? (तथ्याङ्क सहित)
काठमाडौं । बीमा कम्पनीहरुको बैंकको मुद्धती देखि विविध क्षेत्रमा लगानी रहेको रकम ७ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ। जीवन बीमातर्फ बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेप र विविध क्षेत्रमा गर्ने लगानी ६ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ ।
त्यस्तै, निर्जिवन बीमातर्फ बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेप र विविध क्षेत्रमा ६७ अर्ब ३४ करोड माथि रहेको छ।निर्जिवन बीमाको तुलनामा जीवन बीमा कम्पनीको मुद्धती निक्षेप र विविध क्षेत्रमा गर्ने लगानी उल्लेखनीय मात्रामा बढी रहेको छ।
जीवन बीमा कम्पनीहरुले लगानीयोग्य रकमको औसत ८० प्रतिशतसम्म रकम मुद्दती निक्षेपमा रहेको छ भने निर्जिवन बीमा कम्पनीहरुले आफनो कुल लगानीको ७९ प्रतिशत लगानी बैंकहरुको मुद्दति निक्षेपमा रहेको छ। बीमा २० प्रतिशत मात्रै बैकको मुद्धती निक्षेप बाहिर निस्केर लगानी गरिरहेका छन् ।
घरजग्गामा भने निर्जिवन र जीवन बीमा कम्पनी दुबैको शून्य लगानी रहेको छ। त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुले पूर्वधार बैंकमा समेत लगानी गरेका छैन ।
जीवन बीमा कम्पनीको कुन क्षेत्रमा कति लगानी ?
जीवन बीमा कम्पनीहरुले लगानीयोग्य रकमको औसत ८० प्रतिशतसम्म रकम मुद्दती निक्षेपमा लगानी गरेका छन् । जीवन बीमा कम्पनीमध्ये पनि एक बीमा कम्पनीले आफ्नो लगानीयोग्य रकमको ९४ प्रतिशतभन्दा बढी रकम मुद्दती निक्षेपमा राख्ने गरेका छन् ।
चालु आवको पहिलो त्रैमाससम्म कुल लगानी रकममध्ये मेट लाइफ इन्स्योरेन्सले वाणिज्य बैंक र फाइनान्स कम्पनीमा गरेर कुल लगानीको ९४.२७ प्रतिशत रकम मुद्दती निक्षेपमा लगानी गरेका हुन । बीमा कम्पनीहरुले संकलन गरेको प्रिमियम लगानी गर्न नेपाल बीमा प्राधिकरणले लगानी सम्बन्धी निर्देशिका जारी गरेको छ ।
बीमा प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन), २०८० अनुसार नेपाल राष्ट्र बैंकको ऋणपत्र वा बचत पत्र, बैक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप, घरजग्गा, नेप्सेमा सुचीकृत कम्पनीको शेयर, बैंक तथा वित्तीय संस्थाले जारी गरेको अग्रवाधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा लगानी गर्न सक्नेछन् । त्यसैगरी जीवन बीमा कम्पनीले सहायक, कम्पनी, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्र र सेवामूलक क्षेत्रमा समेत लगानी गर्न सक्ने व्यवस्था लगानी निर्देशिकामा छ । लगानी निर्देशिकामा जुनसुकै लेखिएको भए पनि जीवन बीमा कम्पनीहरुले अधिकांश लगानी योग्य रकम मु्द्दती निक्षेपमा नै लगानी गरेको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले लगानी गरेको तथ्यांक विवरण अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र पूर्वाधार बैंकको सम्पूर्ण मुद्दती निक्षेप गरेर कुल ५ खर्ब ४३ अर्ब ८७ करोड ६५ लाचख ५६ हजार रुपैयाँ लगानी गरेका छन् ।
जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी वाणिज्य बैंकहरुमा ४ खर्ब ८८ अर्ब ३९ करोड ८ लाख ५६ हजार रुपैयाँ, पूर्वाधार बैंकमा १ करोड ८० लाख रुपैयाँ, विकास बैंकहरुमा ४६ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ, फाइनान्समा ७ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ बराबरको मुद्दती निक्षेप जम्मा गरेका छन् । चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले कुल ६ खर्ब ७७ अर्ब ५९ करोड २३ लाख ६२ हजार रुपैयाँ लगानी रहेकोमा त्यसको ८०.२७ प्रतिशत अर्थात ५ खर्ब ४३ अर्ब ८७ करोड ६७ लाख ५६ हजार रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
१४ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै लगानी नेपाल लाइफ इन्स्योरेन्सको १ खर्ब ७४ अर्ब ५६ करोड २० लाख ४१ हजार रुपैयाँ लगानी पोर्टफोलियो रहेको छ । त्यसमध्ये १ खर्ब ४२ अर्ब ४९ करोड ६ लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दती, विकास बैंकको मुद्दती १४ अर्ब ८१ करोड मुद्दती गरेर कुल १ खर्ब ५७ अर्ब ३० करोड ६ लाख रुपैयाँ म्ुद्दती निक्षेपमा लगानी रहेको छ । यो कुल निक्षेपको ९०.११ प्रतिशत हो ।
लगानी आकारको आधारमा दोस्रो ठूलो लगानी पोर्टफोलियो रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)को बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा ८४.०९ प्रतिशत लगानी रहेको छ । १ खर्ब ३ अर्ब ४४ करोड ७० लाख रुपैयाँ लगानी पोर्टफोलियो रहेको एलआइसीले वाणिज्य बैंकमा ८२ अर्ब ४४ करोड ४५ लाख रुपैयाँ, विकास बैंकमा ३ अर्ब ८४ करोड ३ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ७० करोड रुपैयाँ गरेर कुल ८६ अर्ब ९८ करोढ ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका छन् ।
त्यसैगरी हिमालयन लाइफले ४१ अर्ब ५८ करोड, नेसनल लाइफले ५० अर्ब ६९ करोड, राष्ट्रिय बीमा संस्थाले ३७ अर्ब ३७ करोड, एसियन लाइफले २३ अर्ब ८७ करोड, सुर्यज्योतिले २३ अर्ब ९ करोड, सिटिजन लाइफले १२ अर्ब २९ करोड, सानिमा रिलायन्स लाइफले ११ अर्ब ८३ करोड, रिलायन्स नेपाल लाइफले ९ अर्ब ८ करोड, आईएमई लाइफले ८ अर्ब ७० करोड, प्रभु महालक्ष्मी लाइफले १० अर्ब २७ करोड र सन नेपाल लाइफले सबैभन्दा कम ६ अर्ब ९३ करोड रुपैयाँ रकम मुद्दती निक्षेपमा राखेका छन् । अधिकांश जीवन बीमा कम्पनीहरुले कुल मुद्दती निक्षेप मध्ये पनि अधिकांश रकम वाणिज्य बैंकमा मुद्दती खाता खोलेर जम्मा गरेको देखिएको छ ।
नेपाल पूर्वाधार बैंकमा नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब २५ करोड, सूर्यज्योति लाइफले ३५ करोड, सिटिजन लाइफले १० करोड, रिलायवल नेपाल लाइफले १ करोड गरी कुल १ अर्ब ८० करोड रुपैयाँ निक्षेप जम्मा गरेका छन् ।
निर्जिवन बीमाको कुन क्षेत्रमा कति लगानी ?
चालु आर्थिक बर्षको प्रथम त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले ६७ अर्ब ३४ करोड रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन्।निर्जिवन बीमा कम्पनीहरुले आफनो कुल लगानीको ७९ प्रतिशत लगानी बैंकहरुको मुद्दति निक्षेपमा रहेको देखिएको छ।
निर्जिवन बीमा कम्पनीहरुले कुल लगानीको रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा मात्रै ५३ अर्ब १० करोड ३९ लाख रुपैयाँ लगानी गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।कम्पनीले क वर्गका बैंकहरुमा ४६ अर्ब ४१ करोड रुपैयाँ, ख वर्गका बैंकमा ५ अर्ब ४५ करोड रुपैयाँ र ग वर्गका बैंक तथा वित्तिय संस्थामा १ अर्ब २३ करोडरुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार निर्जिवन बीमा कमपनीहरुको ,क, ख वर्गको बैंक र ,सूचीकृत पब्लिक कम्पनीको शेयरमा सबैभन्दा बढी लगानी रहेको छ।
त्यस्तै, बैंकको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ३ अर्ब ८ करोड रुपैयाँ, अन्य लगानीमा २ अर्ब २८ करोड रुपैयाँ लगानी रहेको छ।
अन्य संस्थापक शेयरमा १ अर्ब ४२ करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १ अर्ब १४ करोड रुपैयाँ, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायतका क्षेत्रमा ९९ करोड १६ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ७२ करोड ८ लाख रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २१ करोड ५३ लाख रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा १५ करोड १२ लाख रुपैयाँ, र सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा १४ करोड २० लाख रुपैयाँ लगानी गरेका छन्।