हीरो मोटोकर्पले नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य ?

२७ मंसिर २०८१, बिहीबार १८:२६

काठमाडौं । विश्वका उत्कृष्ट मोटरसाइकल र स्कूटर निर्माता हीरो मोटोकर्पले नेपालमा नयाँ मोटरसाइकल मोडेल, एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ। यी नयाँ मोडेलहरू नेपालका युवा र आधुनिक राइडरहरूको बढ्दो आवश्यकतासँग मेल खाने गरी डिजाइन गरिएको छ।

हीरो मोटोकर्पले आफ्नो एक्स्ट्रिम रेंज मार्फत उच्च प्रदर्शन र आकर्षक डिजाइनका साथ शक्तिशाली मोटरसाइकलहरू प्रस्तुत गर्दै नेपालमा ब्रान्डको उपस्थिति अझ बलियो बनाउने उद्देश्य राखेको छ। एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु. २,८९,९०० र एबीएस भेरियन्टका लागि रु. ३,११,९०० तोकिएको छ।

यी मोटरसाइकलहरू नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एकसाथ असेंम्बल गरिएका छन्। मोटरसाइकलको सार्वजनिक कार्यक्रममा बोल्दै, हीरो मोटोकर्पका कार्यकारी उपाध्यक्ष सञ्जय भानले भने, “हाम्रो नयाँ उत्पादन लाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु हाम्रो अहिलेको मूल उद्देश्य हो। एक्स्ट्रिम रेंजको सुरुवातले हाम्रो ‘नयाँ नेपालको नयाँ हीरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादन उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ।”

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, “नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ। यी दुबै मोटरसाइकल नेपालको परिवर्तनशील बजार आवश्यकतासँग पूर्णरूपमा मेल खान्छन्।”

एक्स्ट्रिम १६० आर फोरभी
एक्स्ट्रिम १६० आर फोरभीले १६३ सीसी ४-भल्भ बीएस-भीआई इन्जिनको साथ ८,५०० आरपीएममा १६.९ पीएस पावर र ६,५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ। यसले ०-६० कि.मी./घण्टा ४.४१ सेकेन्डमा पुग्ने क्षमता राख्छ। ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७-स्टेप एडजस्टेबल रियर सस्पेन्सनसँग यो मोटरसाइकल उच्च गति र ह्यान्डलिङमा उत्कृष्ट छ।

एक्स्ट्रिम १२५ आर
एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापन गर्दै ११.४ बीएचपी पावर उत्पादन गर्छ र ०-६० कि.मी./घण्टा ५.९ सेकेन्डमा पुग्न सक्षम छ। यसमा पहिलो पटक एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएको छ।

यो मोटरसाइकल शहरी यात्री र एड्भेन्चर प्रेमीहरूको लागि उपयुक्त छ, जसले उच्च प्रदर्शन, उत्कृष्ट डिजाइन र सुरक्षा सुविधा प्रदान गर्दछ।

हीरो मोटोकर्पले २०१४ मा नेपाल प्रवेश गरेको थियो र यसको उत्पादहरूको पोर्टफोलियो नेपालमा चाँडै लोकप्रिय बनिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*