विदेशी विनिमय सञ्चिति साढे २२ खर्ब, १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्ने

२७ मंसिर २०८१, बिहीबार १६:५९

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा विदेशी विनिमय सञ्चितिमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वित्तीय अवस्थाको विवरणअनुसार कात्तिक मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ, जसले अघिल्लो वर्षको असार मसान्तको २० खर्ब ४१ अर्ब १० करोडको तुलनामा १०.५ प्रतिशतको वृद्धि देखाएको छ।

अमेरिकी डलरमा पनि विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले बढेर असार मसान्तको १५ अर्ब २७ करोडबाट कात्तिक मसान्तमा १६ अर्ब ७० करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति कात्तिक मसान्तमा ८।६ प्रतिशतले बढेर २० खर्ब ८ अर्ब १५ करोड पुगेको छ। असार मसान्तमा यो रकम १८ खर्ब ४८ अर्ब ५५ करोड थियो।

बैंक तथा वित्तीय संस्थाहरू सँग रहेको सञ्चिति २८.४ प्रतिशतले बढेर असार मसान्तको १ खर्ब ९२ अर्ब ५५ करोडबाट कात्तिक मसान्तमा २ खर्ब ४७ अर्ब २० करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ। २०८१ कात्तिक मसान्तको विदेशी विनिमय सञ्चिति पर्याप्तता सूचक सकारात्मक रहेको छ। यसले बैंकिङ क्षेत्रसँग १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखाएको छ।

कुल गार्हस्थ्य उत्पादन, कुल आयात, र विस्तृत मुद्राप्रदायसँग विदेशी विनिमय सञ्चितिको अनुपात क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत, र ३१.४ प्रतिशत रहेको छ। यी अनुपातहरू असार मसान्तमा क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*