बीमा क्षेत्रका लगानीकर्ताले गुमाए ठूलो लगानी, २५ कम्पनीको शेयरमा भारी गिरावट
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अथात बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै बीमा क्षेत्रका लगानीकर्ताले ठूलो मात्रामा लगानी गुमाएका छन् । यसदिन कारोबार भएका २५ कम्पनीहरुको शेयरमूल्यमा भारी गिरावट आएको छ ।
लाइफ इन्स्योरेन्स इन्डेक्समा कारोबार भएका १२ कम्पनी, ननलाइफ इन्डेक्समा कारोबार भएका ११ कम्पनी र दुई वटा पुनर्बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ । यस दिन लगानीकर्ताहरुले उच्च मात्रामा लगानी गुमाएका छन् ।
लाइफ इन्स्योरेन्स इन्डेक्स
यस दिन जीवन बीमा क्षेत्रका सबै कम्पनीहरुको शेयरमूल्यमा भारी गिरावट आएको छ । जसमा हकप्रद निष्काशन गरिरहेको एलआइसी नेपालको सबैभन्दा बढी प्रतिशतले मूल्य घटेको छ । कम्पनीको आज २.६९ प्रतिशतले शेयरमूल्य घटेको छ ।
त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १.८५ प्रतिशत, हिमालयन लाइफले १.६१ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको १.३८ प्रतिशतले सर्वाधिक शेयरमूल्य घटेको छ ।
ननलाइफ इन्स्योरेन्स इन्डेक्स
यस दिन निर्जीवन बीमा क्षेत्रका १२ कम्पनीहरुमध्ये ११ वटाको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस दिन एनएलजी इन्स्योरेन्सको मात्र शेयरमूल्य बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य ०.१२ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको १.८३ प्रतिशतले सर्वाधिक शेयरमूल्य घटेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.७५ प्रतिशत, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १.४८ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको १.३१ प्रतिशतले गिरावट आएको छ ।
पुनर्बीमा कम्पनीहरुमा नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको पनि शेयरमूल्य घटेको छ ।