टिकेन लगानीकर्ताको खुसीः गुम्दै अर्बौ रकम, नियामकको ठोस कदम खोजिदै हो ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जको बजार फेरि सुस्ताएको छ । साताको अन्तिम कारोबारी दिन बजार राताम्य भएको छ, जसले लगानीकर्ताको मनोबलमा थप गिरावट ल्याएको छ । विगतका पाँच दिनको गिरावटपछि बुधबार बजारमा सुधार आएको थियो, जसले लगानीकर्तामा आशा र उत्साहको भावना जागृत गरेको थियो । तर, यो उत्साह एक दिन पनि टिक्न सकेन र बजार पुनः सुस्त हुँदै गएको छ ।
शेयर बजारको यो अवस्था देखाउँदै लगानीकर्ताको विश्वासमा ठूलो कमी आएको छ । बजारको कमजोर प्रर्दशनले लगानीकर्तालाई चिन्तित बनाएको छ । यस क्रममा अर्थसमितिमा अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारको सुधारको आवश्यकता औंल्याएका थिए । सोही दिन काठमाडौँमा भएको एक कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्षले पनि बजारको अवस्था सुधार हुने आशा व्यक्त गरेका थिए, तर नियामकको सक्रियतासँगै पनि बजारले लय लिन सकेको छैन ।
यसका अलावा, बैंकको ब्याज दर पनि निरन्तर ओरालो लागेको छ । ब्याज दर एकल अंकमा पुगेको अवस्थामा कर्जाको माग अपेक्षा अनुसार हुन सकेको छैन । यसले लगानीकर्तामा असमर्थता र चिन्ता बढाएको छ, जसले बजारमा थप नकरात्मक असर पुर्याएको छ। बजारको सुधारको लागि स्पष्ट र स्थिर नीतिहरूको आवश्यकता रहेको र लगानीकर्ताको मनोबल उच्च राख्नका लागि ठोस कदमहरूको आवश्यकता छ ।
शेयर बजारको अस्थिरता र बैंकको ब्याजदरको गिरावटले लगानीकर्तालाई थप अनिश्चितताको सामाना गराउँदै आएको छ। यस अवस्थामा, सरकार र नियामक निकायको सक्रियता बढाउनुपर्ने जरुरी छ । लगानीकर्ताले नियामकबाट नीति सुधारको माग राखेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.४२ अकंले घटेर २६८२.२९ बिन्दुमा कायम भएको छ । आज ३०४ कम्पनीको १ करोड २३ लाख कित्ता किनबेच हुँदा ६ अर्ब १४ करोडको शेयर कारोबार भएको छ ।
यसदिन १२ वटा उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.७२ प्रतिशत, विकास बैंक समूहको १.५५ प्रतिशत, फाइनान्स समूहको २.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९८ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज ४० कम्पनीको शेयर बढ्दा २०४ कम्पनीको घटेको छ ।