दुई हाइड्रोपावर र एक लघुवित्तको साधारणसभा भोलि बस्दै
काठमाडौं । भोलि मंसिर २८ गते दुईवटा हाइड्रोपावर र एउटा लघुवित्त कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। भोलि सुपरमाई हाइड्रोपावर लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्ने भएको हो।
सुपरमाई हाइड्रोपावर
यस कम्पनीको दशौं वार्षिक साधारणसभा नक्सालस्थित लिसरा रिसेप्सन प्रा.लि. मा दिउँसो ४ बजेदेखि बस्दैछ। कम्पनीले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ५.६३१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गर्नेछ।
साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा लागि तय गरिएका छन्।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते बुक क्लोज गरिसकेकाले मंसिर १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
नेशनल हाइड्रोपावर
यस कम्पनीको २७औं र २८औं वार्षिक साधारणसभा भोलि एकैपटक बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। यस कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन।
सभामा गत दुई आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, गत आवको लेखापरीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने तथा चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ।
त्यसैगरी सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र रिक्त २ पदमा सञ्चालक नियुक्ति गर्ने एजेण्डा पनि सभाका लागि तय गरिएको छ। लगानी र कर्जा अनुमोदन गर्ने तथा हकप्रद शेयरबाट प्राप्त रकमको अन्तिम बाँडफाँडको विषय पनि सभाले टुङ्ग्याउनेछ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते बुक क्लोज गरिसकेकाले मंसिर १८ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।
फरवार्ड माइक्रोफाइनान्स
यस कम्पनीको बाह्रौं वार्षिक साधारणसभा सुनसरीको दुहवीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजेदेखि बस्दैछ। सभामा चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश गरिनेछ।
कम्पनीले अन्य ‘घ’ वर्गको वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ। यसका साथै गत आवको वित्तीय विवरणहरू माथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि समावेश छन्।
सभा प्रयोजनार्थ लघुवित्तले मंसिर १४ गते बुक क्लोज गरिसकेकाले मंसिर १३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।