टोयोटा गाडी बिक्री हुनै सकस, व्यापार खुम्चिदै जाँदा धराशायी बन्दै इस्ट लिंक मोटर्स
काठमाडौं । टोयोटा गाडीको क्षेत्रीय डिलरको रूपमा परिचित इस्ट लिंक मोटर्स प्रा. लिको व्यापारमा पछिल्लो समय गिरावट देखिएको छ । कम्पनीका गाडि बिक्री हुनै छोडेपछि कम्पनी धराशायी अवस्थामा पुगेको हो ।
२००७ मा स्थापना भएको यस कम्पनीले बागमती क्षेत्रका लागि टोयोटा यात्रुवाहनहरूको विक्रेताका रूपमा काम गर्दै आएको छ । संयुक्त ट्रेडर्स सिन्डिकेट प्रा. लिसँगको डिलरशिप सम्झौताअन्तर्गत सञ्चालन हुँदै आएको कम्पनीको मुख्य कार्यालय लैनचौरमा रहेको छ भने उत्तर्दोखास्थित आफ्नै शोरुममार्फत् सेवा प्रदान गरिरहेको छ । तर, पछिल्लो समय ग्राहकले कम्पनीको गाडि रुचाउनै छोडेपछि व्यापारमा गिरावट देखा परि रहेको हो ।
पछिल्ला वित्तीय वर्षहरूमा कम्पनीको कारोबारमा देखिएको गिरावटले यसको आर्थिक अवस्था कमजोर बन्दै गएको संकेत गरेको छ । २०२० मा कम्पनीको कुल आम्दानी १.०७ अर्ब रुपैयाँ रहेकोमा २०२२ मा २.६९ अर्ब रुपैयाँसम्म पुगेको थियो । तर, २०२३ र २०२४ मा क्रमशः १.७४ अर्ब र १.५९ अर्ब रुपैयाँमा खुम्चिएको छ ।
आर्थिक सूचकहरूले पनि कम्पनीको समस्या झल्काएका छन् । सञ्चालन आम्दानीमा देखिएको गिरावटसँगै सञ्चालन नाफा मार्जिन २०२० को ३.४ प्रतिशतबाट २०२३ मा ०.८ प्रतिशतसम्म घटेको छ । २०२४ मा यो अनुपात केही सुधार भएर २.५ प्रतिशत पुगे पनि यसको असर कम्पनीको दीर्घकालीन स्थायित्वमा नकारात्मक देखिएको छ ।
कम्पनीको ऋण र वित्तीय व्यवस्थापनमा समेत चुनौती देखिएको छ। कुल ऋण/ठोस खुद मूल्यको अनुपात २०२३ मा ५.८ गुणासम्म पुगेकोमा २०२४ मा १.२ गुणामा झरेको छ । तर, कुल बाह्य दायित्वहरू/खुद मूल्य अनुपात भने अझै उच्च १७.५ गुणामा रहेको छ ।
सञ्चालन पूँजी व्यवस्थापनमा समस्या देखिएसँगै कम्पनीको कार्यशील पूँजीबाट आम्दानी गर्ने क्षमता २०२० को २१ प्रतिशतबाट २०२४ मा ६ प्रतिशतमा खस्किएको छ । वित्तीय स्थायित्व मापन गर्ने अन्य सूचक जस्तै ब्याज कभरेज अनुपात (१.२ गुणा) र ऋण सेवा कभरेज अनुपात (१.२ गुणा) समेत कमजोर अवस्थामा छन् ।
कमजोर व्यवसायिक मोडेल, बिलय तिर कम्पनी
इस्ट लिंक मोटर्स टोयोटा गाडीको क्षेत्रीय डिलर भएकोले कम्पनीको व्यापारिक मोडेल अत्यन्तै कम नाफा आधारित छ । आर्थिक मन्दी र सरकारको खर्चमा आएको कमीले यस क्षेत्रमा गम्भीर प्रभाव पारेको छ । विशेषगरी, उच्च मूल्यका गाडीहरूको बिक्रीमा निर्भरता (प्राडो, फर्च्युनर र हाइलक्सजस्ता) र मिड–लेभल गाडीहरूमा नसमावेश हुनुले प्रतिस्पर्धामा पनि ठूलो दबाब पारेको छ ।
टोयोटाको लोकप्रिय ब्रान्ड भए पनि कम्पनीले प्रतिस्पर्धी ब्रान्डहरू, जस्तै मित्सुबिसी, जीप, फोर्ड र निसानसँग ठूलो चुनौती सामना गरिरहेको छ । टोयोटाको मोडेलहरूको सीमितताले ग्राहक आकर्षणमा कमी ल्याएको छ । विशेषगरी, इन्ट्री र मिड–लेभल गाडीहरूको अभावले बजारमा टोयोटाको उपस्थिति कमजोर बनाएको छ । हाल कम्पनीले आफ्नो कार्यशील पूँजीलाई केही हदसम्म व्यवस्थित गरेको देखिए पनि यसको दीर्घकालीन स्थायित्व र वृद्धि अझै चुनौतीपूर्ण देखिन्छ । सरकारी खर्च र निजी पूर्वाधार परियोजनाको गति बिना, गाडीहरूको माग सुधारिने सम्भावना कम छ ।
यो अवस्था कम्पनीले व्यवसायिक मोडेलमा सुधार नगरेसम्म थप गम्भीर बन्ने देखिन्छ । टोयोटाको ब्रान्ड नाम र वितरकको सहायतामा कम्पनीले अबको केही समयसम्म मात्र टिक्न सक्ने संभावना छ ।
रेटिङ पुनः पुष्टि
इस्ट लिंक मोटर्स प्रा. लिको छोटो अवधिको ऋण सीमा (गैर–निधि आधारित सीमा सहित) का लागि आईसीआरए एनपी ए फोर रेटिङ पुनः पुष्टि गरिएको छ । आईसीआरए नेपालले यो रेटिङ पुनः पुष्टि गर्दै कम्पनीको वित्तीय स्थायित्व र छोटो अवधिको वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई यथावत रहेको जनाएको छ । यसले कम्पनीले आफ्नो वित्तीय व्यवस्थापनमा सन्तुलन कायम गर्न सक्षम रहेको र छोटो अवधिमा वित्तीय दायित्व पूरा गर्न सक्ने विश्वासलाई प्रतिबिम्बित गर्दछ । यो रेटिङले इस्ट लिंक मोटर्स प्रा. लि.को स्थिर प्रदर्शन, वित्तीय क्षमता र व्यवस्थापनको सुदृढतालाई झल्काउँछ ।
कम्पनीको ऋण सीमा ९६८ मिलियन रुपैयाँ रहेको छ, जसमा अघिल्लो र हालको रेटिङ सीमा पनि ९६८ मिलियन रुपैयाँमै स्थिर रहेको छ । कम्पनीको स्वामित्व तीन व्यक्तिहरूमा समान रुपमा विभाजित छ । ती व्यक्तिहरूमा नारायणप्रसाद पौडेल, राजेन्द्रविक्रम पौडेल र डा. धनञ्जय रेग्मी रहेका छन् ।