प्रतिकित्ता ५० रुपैयाँमा नै प्रभु स्टील्सले २ करोड कित्ता आइपीओ ल्याउँदै

२६ मंसिर २०८१, बुधबार १८:०१

काठमाडौँ । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको ९८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने कार्य अगाडी बढेको छ । प्रभु ग्रुप्स एण्ड कम्पनी  अन्तर्गतका विभिन्न कम्पनीहरुको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटलबीच आज शेयर निष्काशन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको हो ।

कम्पनीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ । कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा लगानी गर्दछ । दोस्रो बजारमा समेत यस कम्पनीको राम्रो उपस्थिति रहेको छ । यस कम्पनीको मुख्य उद्देश्य लगानी मूलक हो ।

कम्पनीले हाईड्रो पावरको विभिन्न संरचनामा चाहिने मसिनहरु आयात गरि भण्डारण गर्ने र जलविद्युत कम्पनीलाई सप्लाई गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ३१ मा यसै आ.व.मा ३ (तीन) विगाह जमिन समेत खरिद गरेको छ । यस कम्पनीको लिबर्टी इनर्जी कम्पनी लिमिटेड र बुटवलको फुलबारी पार्क देउराली डाँडा स्थित सञ्चालनमा आई सकेको भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोट गढी जाने सिद्धार्थ केवलकार लिमिटेडमा समेत ठूलो लगानी रहेको छ ।

कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्ब रहेको छ । कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पूँजी छ र आईपीओबाट आउने सर्वसाधारण समूहको ९८ करोड गरि कम्पनीको २ अर्ब पूँजी पुग्नेछ । कम्पनीले जारी गर्ने शेयर प्रति कित्ता ५० रुपैयाँ दरको १,९६,००,००० कित्ता हुनेछ । यो कम्पनी गत २ वर्षदेखि संचालन मुनाफामा रहेको छ ।

प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि उक्त सम्झौता पत्रमा प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिल प्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फवाट प्रमुख मर्चेन्ट बैंकिङ्ग सविन बुढाथोकीले हस्ताक्षर गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*