अर्थ मन्त्रालयले बीमा प्राधिकरणमा नयाँ कर्मचारी पठाएर कामु दिने तयारी, दाहालले जिम्मेवारी नलिने
काठमाडौं । हिजोदेखि अध्यक्ष बिहिन बनेको नेपाल बीमा प्राधिकरणमा अर्थमन्त्रालयले नयाँ कर्मचारीलाई सञ्चालकको रुपमा पठाएर अध्यक्षको समेत काम गर्न खटाउने तयारी गरिरहेको छ ।
प्राधिकरण अध्यक्ष बिहिन बनेपछि आज अर्थमन्त्रालयमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा अनौपचारिक छलफल भएपनि औपचारिक निर्णय भने गरेको छैन । हालका सञ्चालक मदन दाहालले प्राधिकरणको कामु अध्यक्षको जिम्मेवारी नलिने भएपछि नयाँ सञ्चालक पठाएर अर्को अध्यक्ष नआउँदासम्मको लागि अध्यक्षको समेत काम गर्ने गरी तोक्न लागेको बुझिएको छ ।
अर्थमन्त्रालय स्रोतले बीमा प्राधिकरणमा पठाउने नयाँ कर्मचारीको खोजी भइरहेको जनाएको छ । बीमा प्राधिकरणमा अर्थमन्त्री पौडेलसँग विशेष सम्बन्ध भएका कुनै एक सह सचिवलाई पठाइनेछ ।
स्रोतका अनुसार भोलिसम्म बीमा प्राधिकरणमा पत्र पठाउने तयारी भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेलले दुई नयाँ बीमा कम्पनीको लाइसेन्स लिन घुस सेटिङ गरिसकेको र उक्त रकम पचाउन पनि विश्वासिलो व्यक्तिलाई प्राधिकरणमा पठाउन चाहेको देखिएकोे छ ।
जनार्दन शर्माकै शैलीमा भ्रष्टाचार गरेर लाइसेन्स वितरण गर्ने ध्याउन्नमा रहेका उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको लाइसेन्स वितरण गर्ने योजना पनि अब अप्ठेरोमा परेको छ ।