मन्द बजारमा निराश लगाानीकर्ताः निरन्तर पाँचौ दिन समेत घट्यो नेप्से, १८०० कै बिन्दु तिर हो त ?
काठमाडौं । पछिल्लो समय सेयर बजारमा एउटा प्रमुख समस्याका रूपमा हल्लाको भरमा लगानी गर्ने प्रवृत्ति देखिएको छ । दीर्घकालीन सोच र पर्याप्त अध्ययनको अभावमा अहिले धेरै लगानीकर्ताले तत्काल मुनाफाको आशामा कम मूल्य भएका कम्पनीहरूमा लगानी गर्दै आएका छन् । यसले समग्र बजारलाई जोखिमतर्फ धकेलिरहेको जानकारहरूको भनाइ छ । यसका कारण आम लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरूमा मात्र लगानी गर्नुपर्नेमा जोड दिइरहेका छन् ।
हालको बजार घट्ने अर्को कारण भनेको केन्द्रीय बैंकको मौद्रिक नीति समीक्षामा सेयर बजार सुधारका लागि कुनै महत्वपूर्ण नीति परिवर्तन नभएको पनि हो । लगानीकर्ताले व्यक्तिगत सेयर धितो कर्जाको सीमा वृद्धि र ५० लाखमाथिको कर्जाको जोखिमभार घटाइ १०० प्रतिशतसम्म झार्ने अपेक्षासहित सुधारको आशा गरेका थिए । तर, नीतिमा कुनै परिवर्तन नगर्दा उनीहरू निराश भएका छन्। यसले बजारमा थप अस्थिरता ल्याएको छ ।
जानकारहरूका अनुसार, बजार माथि जानका लागि नेप्से सूचकको वृद्धिसँगै कारोबार रकममा वृद्धि आवश्यक छ । ठूलो टर्नओभरले मात्र बजारलाई माथि लैजाने ताकत राख्ने बताइएको छ। बैंकिंग प्रणालीमा रहेको अधिक तरलता र घटेका ब्याजदरले बजारलाई सकारात्मक दिशा दिन प्रयास गर्ने भए पनि नयाँ लगानीकर्ताको नआउनु र पुरानाको पनि क्रय क्षमता विस्तार नहुनु बजारको विकासमा चुनौती बनिरहेको छ।
सूचीकृत कम्पनीहरूले मुनाफा वृद्धि गर्दै जानुका साथै लाभांश वितरण क्षमता पनि बढाउनु पर्ने आवश्यकता छ। आम लगानीकर्ताले भने वित्तीय सूचकहरूलाई ध्यानमा राखेर मात्र लगानी गर्ने हो भने उनीहरू दिनहुँको उतारचढावबाट बच्न सक्नेछन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३२ अकंले घटेर २६६९.८२ बिन्दुमा कायम भएको छ । आज ३०३ कम्पनीको ८७ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.१५ प्रतिशत, विकास बैंक समूहको ०.५२ प्रतिशत, फाइनान्स समूहको ०.७१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज ८५ कम्पनीको शेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ ।