बीमा प्राधिकरणमा भ्रष्टाचारीको युग समाप्त, नयाँ ढृढताको खाँचो
।। सम्पादकीय ।।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा निलम्वनमा परेसँगै प्राधिकरणमा विगत पौने चार वर्षदेखि जारी भ्रष्टाचारको एउटा श्रृंखलाको अन्त्य भएको छ । बीमापोष्टले उत्खनन् गरेको जन्म मिति सम्बन्धी कागजातको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो विशेष अदालतमा मुद्दा दर्ता गरेपछि बीमा क्षेत्रमा नीतिगत भ्रष्टाचारीका नाइके सुर्य प्रसाद सिलवाल निलम्वनमा पर्न गएका छन् । बीमापोष्टले सुर्य प्रसाद सिलवालले गरेका एक एक भ्रष्टाचार काण्डहरुको उजागर गर्दै आएको थियो । अन्ततः उनी कानुनको फन्दामा फरेका छन् । उनको भ्रष्टाचार श्रृंखलामा ब्रेक लागेसँगै बीमा क्षेत्रमा नयाँ आशा सञ्चार हुन पुगेको छ ।
बीमा प्राधिकरणमा सुर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा निलम्वनमा परेसँगै अब त्यहाँभित्र कस्ता काम हुन्थे भनेर प्रश्न गरिरहनु परेन । बरु, त्यहाँभित्रको भ्रष्टाचार संस्कृति आगामी दिनमा कसरी रोक्ने भन्ने आम चासो र चर्चाको विषय बन्न पुगेको छ । भ्रष्टाचार जघन्य अपराध मात्रै नभई एउटा संस्कृति पनि हो । बीमा प्राधिकरणमा सुर्य प्रसाद सिलवाल हिजोबाट विदाई भएपनि उनले बसालेका भ्रष्टाचार संस्कृति उनको विदाईसँगै अन्त्य गर्नु अबको दायित्व हुन आएको छ । त्यसको लागि बीमाकर्मीहरु, बीमा क्षेत्रमा बौद्धिक जगत एकजुट भएर अघि बढ्नुपर्नेछ । बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुले दृढता व्यक्त गर्नुपर्ने समय आएको छ ।
नियामक नेपाल बीमा प्राधिकरणमा कार्यरत कर्मचारीहरुमा सुर्य प्रसाद सिलवालले बसालेको भ्रष्टाचार संस्कृति तत्काल अन्त्य गर्ने सम्बन्धमा प्राधिकरणमा उच्च तहका नेतृत्वदेखि तल्ला तहका पियनसम्म पनि सचेत हुनुपर्नेछ । किनभने प्राधिकरणमा आएर सुर्य प्रसाद सिलवालले घुस सेटिङमा ८ वटा नयाँ लाइसेन्स वितरण गरे । ति लाइसेन्स वितरण गर्दा प्राधिकरणभित्रका पाँच जना मात्रै कर्मचारीले पनि आफ्नो दृढता प्रस्तुत गरेको भए सुर्य प्रसाद सिलवालले भ्रष्टाचार गर्न सम्भव हुने थिएन । फाइलमा टिप्पणी उठाउँदादेखि अन्तिम स्वीकृति र सदरसम्म पुग्दा धेरै प्रक्रियामा कर्मचारीहरु पनि चुकेको यथार्थ हाम्रो सामू छ । अख्तियारको दुरुपयोग कतिपय अवस्थामा लाभ लिने उद्देश्यले हुन्छ भने कतिपय डर, त्रास र जागिरै जानसक्ने भयले कर्मचारीहरुले हस्ताक्षर गरेका हुन्छन् । पछिल्लो समय बीमा प्राधिकरणका कर्मचारीको क्षमता अभिबृद्धि र दक्षता विकासको विषय यही सन्दर्भमा उठिरहेको हो । सुर्य सिलवाल हप्काउँथे, तर्साउँथे, थर्काउथे र अनैतिक काममा लगाउने गर्दथे । अब त्यो युग अन्त्य भएको छ ।
लाइसेन्स वितरणदेखि प्राधिकरणभित्र घोटाला गर्ने सुर्य प्रसाद सिलवाल एक्लैले नगरेको नभई सञ्चालक, अध्यक्ष सिलवाल र कर्मचारीहरुले गरेको सामूहिक भ्रष्टाचार काण्डहरु हुन् । भलै अहिले सुर्य प्रसाद सिलवाल एक्लै निलम्वनमा परेका छन् । अन्य फाइलहरु छानविनको दायरामा ल्याउन बाँकी नै छ । थप छानविन परेका बखत अझै को को छानविनमा दायरामा आउँछन्, त्यो बाँकी नै छ ।
अहिलेलाई बीमा प्राधिकरणमा नीतिगत भ्रष्टाचारको एउटा युग समाप्त भएको छ । अब नयाँ युगको सुरुवात गर्न प्राधिकरणको अबको नेतृत्व चुक्नु हुँदैन । बीमा प्राधिकरणमा उच्च तहमा रहेका कर्मचारीहरु, अन्य कर्मचारीहरु सबैले सुर्य सिलवालको भ्रष्टाचारी संस्कृति बिर्सनुपर्दछ र बीमा कम्पनीहरुमाथि निष्पक्ष नियमन गर्ने नयाँ युगको प्रारम्भ गर्नुपर्दछ । बीमाको सिद्धान्त, नियामकको न्यूनतम मूल्य र मान्यताभित्र रहेर बीमित मैत्री बीमा क्षेत्रको विकासमा बीमा प्राधिकरण अघि बढ्नु अबको कार्यभार हुन आएको छ । सुर्य प्रसाद सिलवालले गरेका गैर कानुनी नीतिगत निर्णयहरु सुधार गर्दै कही कतैबाट प्रश्न उठ्ने अवस्था नआउने गरी बीमा क्षेत्रको नियमन प्रभावकारी बनाउने अबको दायित्व हुन आएको छ । त्यो दायित्व पूरा गर्न प्राधिकरणमा रहेका नेतृत्वलाई सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न चुक्नु हुँदैन । नियामकलाई बलियो बनाउँदा मात्रै नेपाली बीमा क्षेत्र समृद्धि र भव्य हुन सक्दछ, विकृति तथा विसंगतिहरुलाई हटाएर स्वच्छ, पारदर्शी र जनतामैत्री बीमा सेवाको लागि सार्थक पहल जरुरी हुन आएको छ ।