मुक्तिनाथ म्युचुअल फन्ड–१ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मुक्तिनाथ क्यापिटलद्वारा सञ्चालित पहिलो म्युचुअल फन्ड योजना ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ को इकाई खरिदका लागि आवेदन दिने आज (मंसिर २५) अन्तिम दिन हो।
यो योजनाको इकाई गत मंसिर २० गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। मागभन्दा बढी आवेदन परेकोले आज बैंकिङ समयपछि आवेदन प्रक्रिया बन्द गरिने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलले जनाएको छ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई जारी गर्न लागेको हो। जसमध्ये १ करोड ३० लाख इकाई कोष प्रवर्धक र २० लाख इकाई योजना व्यवस्थापकलाई छुट्याइएको छ। यसरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा बिक्री खुला गरिएको छ।
यसमा आवेदन दिँदा घटीमा १०० इकाई र बढीमा १ करोड इकाईको माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यो १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
फन्डको इकाई खरिद गर्ने इच्छुक लगानीकर्ताले आजभित्र आवेदन दिनुपर्नेछ।