बीमा प्राधिकरण नेतृत्व विहिन, कार्यकारी निर्देशक र अध्यक्ष दुवै पद रिक्त
काठमाडौं । सुर्य प्रसाद सिलवाल निलम्वनमा परेपछि नेपाल बीमा प्राधिकरण आजदेखि नेतृत्व विहिन हुन पुगेको छ । यसअघि गत भदौंदेखि कार्यकारी निर्देशक विहिन भएको प्राधिकरणमा अब अध्यक्ष समेत निलम्वनमा परेपछि प्राधिकरणको उपरी संरचना नेतृत्वविहिन हुन पुगेको हो ।
बीमा ऐनमा अध्यक्ष निलम्वनमा परेमा कसले सम्हाल्ने भन्ने व्यवस्था छैन । कार्यकारी अधिकार भएको प्राधिकरणको अध्यक्ष नहुने वित्तिकै थुप्रै कामहरु रोकिने अवस्था छ ।
प्राधिकरणमा लोकसेवामार्फत छिटो छरितो रुपमा कार्यकारी निर्देशक पदमा नियुक्ती गर्नुपर्नेमा अध्यक्ष सिलवालले नगरी बसेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गत जेठ ११ गते अवकाश पाएका थिए । मन्त्रालयले कार्यकारी निर्देशक नियुक्त नगरी केही समय पहिले विशिष्ठ श्रेणी सरहको तलव सुविधा दिने गरि दुईवटा उपकार्यकारी निर्देशकको दरबन्दी सृजना गरेको छ । तर, ती पदमा नयाँ नियुक्त भइसकेको छैन ।
झण्डै ८ महिनादेखि कार्यकारी निर्देशक खाली रहदा प्रशासनिक तहबाट हुनु पर्ने कतिपय कामहरु ‘पेण्डिङ’ भैरहेको बेला अध्यक्ष पनि निलम्बित भएपछि प्राधिकरणका नीतिगत कामहरु नै ठप्प हुने अवस्था सृजना भएको छ ।
‘अर्थमन्त्रालयले अध्यक्ष र कार्यकारी निर्देशक नियुक्तिको लागि तत्काल कदम चालेन भने बीमा क्षेत्रको नीतिगत कामहरु ठप्प हुनेछन् । यसले प्राधिकरणको मात्र नभएर बीमा कम्पनीहरुकै गतिविधिलाई गम्भीर नकारात्मक असर पर्नेछन् ।’ प्राधिकरणका एक अधिकारीले बीमापोष्टलाई भने ।
उता, अर्थ मन्त्रालयले आजै कुनै तयारी नगरे पनि सम्भवतः भोलि सो सम्बन्धमा नयाँ निर्णय गर्न सक्ने जनाइएको छ ।