हुन्डाई गाडीमा बढ्दो आगलागी समस्या, के ब्याट्रि नै गुणस्तरहीन हुन् ?
काठमाडौँ । पछिल्लो समय हुन्डाईका गाडीमा लगातार आगलागीका घटना बढ्दै जानुले कम्पनीको प्रतिष्ठा र व्यापारमा गम्भीर असर परेको छ। नेपालसहित अन्तर्राष्ट्रिय बजारमा हुन्डाईका गाडीहरूमा बारम्बार आगलागीका घटना भइरहँदा ग्राहकहरूको विश्वास कमजोर भएको छ। यसले कम्पनीका गाडीहरूको बिक्री लगभग ठप्प भएको छ।
हुन्डाई मोटर ग्रुप आफ्ना विद्युतीय गाडीहरूमा प्रयोग हुने ब्याट्रीहरूको विवादलाई कम गर्न र उपभोक्ताको विश्वास फर्काउन बाध्य भई ब्याट्री निर्माताहरूको विवरण सार्वजनिक गर्न पुगेको छ। कम्पनीले हालै आफ्ना १३ वटा हुन्डाई र जेनेसिस मोडेलहरूको ब्याट्री निर्माताहरूको सूची कोरियाली वेबसाइटमा राखेको छ।
आइओनिक ब्रान्डका गाडीहरूमा एलजी इनर्जी सोलुसन र एसके अनका ब्याट्रीहरू प्रयोग गरिए पनि, हुन्डाई कोना इलेक्ट्रिकमा चीनको विवादास्पद ब्याट्री निर्माता सीएटीएलका ब्याट्रीहरू प्रयोग गरिएको खुलासा भएको छ। यी ब्याट्रीहरूले बारम्बार आगलागीका घटना निम्त्याइरहेको आशंका गरिएको छ।
जेनेसिसका विद्युतीय गाडीहरूमा एसके अनका ब्याट्री प्रयोग गरिएको भए पनि, ग्राहकहरूले यी ब्याट्रीहरूको सुरक्षाबारे गम्भीर प्रश्न उठाएका छन्। यसैबीच, कियाले पनि आफ्नो विद्युतीय गाडीको ब्याट्री निर्माताहरूको सूची चाँडै सार्वजनिक गर्ने योजना बनाएको छ, तर सुरक्षाका चुनौतीहरू समाधान गर्न कम्पनी असफल देखिएको छ।
यस विषयलाई लिएर कोरियाली सरकारले स्वदेशी र विदेशी कम्पनीहरूलाई विद्युतीय गाडी सुरक्षाबारे स्पष्टता दिन निर्देशन दिएको छ। तर, अन्तर्राष्ट्रिय आयातकर्ताहरूले आफ्नो मुख्यालयबाट निर्देश पर्खनुपर्ने भन्दै ढिलाइ गरिरहेका छन्।
हुन्डाई र कियाका विद्युतीय गाडीहरूको आगलागी समस्या समाधान गर्न कम्पनीले नयाँ प्रविधि र उपायहरूको घोषणा गरे पनि, यी प्रयासहरू पर्याप्त देखिएका छैनन्। आगलागीका घटना र सुरक्षाका प्रश्नहरूले कम्पनीको व्यापारमा गहिरो संकट निम्त्याएको छ।