नेपाल प्रिमियर लिगमा दैनिक अर्बौंको जुवा खेलाइँदै, राज्य संयन्त्र भने निरिह
काठमाडौँ । पछिल्लो समय नेपालमा अनलाइन जुवा खेलाउने प्रवृत्ति तीव्र रुपमा बढ्दै गएको छ । रातारात धनी बन्ने मानसिकता राख्ने युवाहरूले अनलाइन मार्फत जुवा खेल्ने र खेलाउने कार्यमा सक्रियता देखाएका छन् । यस्तै, काठमाडौँको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) यस किसिमको अनलाइन जुवाको मुख्य माध्यम बनेको छ ।
आठ टोली सम्मिलित एनपीएल प्रतियोगितालाई लिएर अनलाइन बेटिङ समूहहरूले स्पोर्ट्स बाजी र प्रोभो जस्ता एपमार्फत् दैनिक १० अर्बभन्दा बढीको कारोबार गरिरहेको तथ्य फेला परेको छ । बेटिङमा १ हजारदेखि ५० हजारसम्म रकम लगानी गर्न गरेको देखिएको हो ।
१६ देखि ४० वर्ष उमेर समूहका युवाहरू यस्ता सट्टेबाजीमा बढी सक्रिय देखिन्छन् । डिजिटल प्लेटफर्महरूबाट सजिलै पहुँच हुने र आकर्षक अफरहरूका कारण युवा पुस्ता यो प्रवृत्तिमा तानिएको हो । मैदानको वरिपरि यस्ता सट्टेबाजी साइटहरूको विज्ञापन समेत देखिन्छ, जसले बेटिङलाई थप प्रोत्साहन गरेको छ ।
एनपीएलको आयोजनकर्ता नेपाल क्रिकेट सङ्घ (क्यान)ले केही विज्ञापनबारे उठेका प्रश्नहरूको जवाफ दिँदै, ती सट्टेबाजी प्लेटफर्मसँग प्रत्यक्ष सम्बन्ध नभएको दाबी गरेको छ । क्यानले यस्ता विज्ञापनलाई सरोगेट विज्ञापनको संज्ञा दिएको छ । ती विज्ञापन सट्टेबाजी साइटहरूकै अन्य उत्पादनहरूसँग सम्बन्धित भएको र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा समेत यस्ता विज्ञापन राखिने दाबी गरिएको छ ।
तर, विज्ञापनमा ’न्यूज’ लेखिएको शब्द सानो आकारमा राखिएपछि त्यो विज्ञापन सट्टेबाजीसँग सम्बन्धित नभई अर्को उत्पादनसँग सम्बन्धित भन्ने दाबीलाई धेरैले पत्याउन सकेका छैनन् । सहभागी केही टोलीहरूको जर्सीमा समेत सट्टेबाजीसँग सम्बन्धित कम्पनीहरूको प्रचार गरिएको छ । उदाहरणका लागि, सुदूरपश्चिम टोलीका खेलाडी सैफ अली जैबको जर्सीमा यस्ता विज्ञापन हटाउन टेप लगाइएको थिए । यसले एनपीएलका आयोजकहरूलाई थप विवादमा ल्याएको छ ।
नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२५ मा जुवाको परिभाषा स्पष्ट रूपमा दिइएको छ । ऐनले हारजित हुने गरी बाजी थाप्न पूर्णतः निषेध गरेको छ । तर, एनपीएलको सन्दर्भमा सट्टेबाजीसँग सम्बन्धित विज्ञापन खुला रूपमा देखिएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सट्टेबाजीमा संलग्न सात जना भारतीय नागरिकलाई त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानबाट पक्राउ गरेको छ । उनीहरू मैदानमै बसेर अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेका थिए । मौदान भित्रै बेटिङ हुँदा समेत राज्य रमिता हेरेर बसेको छ ।
अनलाइन जुवामा रकमको लेनदेन इसेवा, खल्ती जस्ता डिजिटल पेमेन्ट प्लेटफर्ममार्फत भइरहेको छ । तर, यस्ता एप माथि कारबाही गर्न राष्ट्र बैंकले प्रभावकारी कदम चाल्न सकेको छैन । नेपाल प्रहरीले पनि इसेवा र खल्तीलाई स्पष्टिकरण माग गरे पनि ठोस कारबाही भएको देखिँदैन ।
खुलेआम सट्टेबाजीको प्रचारप्रसार हुँदा पनि राज्यले यसमा कुनै प्रभावकारी कदम चाल्न सकेको छैन । प्रहरी प्रशासनले गहन अनुसन्धान गरिरहेको दाबी गरे पनि ठूला संलग्न समूह र भीआईपीहरुसम्म पुग्न नसकेको आरोप लागेको छ ।
सट्टेबाजीमा संलग्न दोषीहरूलाई अदालतले एक वर्षको जेल सजाय र कारोबार रकमको आधारमा जरिवाना तोक्नसक्ने कानुनी व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयनको अभावले यस्ता गैरकानुनी गतिविधि थप मौलाइरहेका छन् ।
एनपीएलका आयोजक र सट्टेबाजी समूहबीच मिलेमतो भएको चर्चा चुलिएको छ । प्रतियोगितामा सहभागी टिमहरूले जर्सीमा समेत कानूनविपरीत प्रचार राखेका छन् । यस्ता गतिविधि रोक्न नसक्दा एनपीएल आयोजकको भूमिका समेत विवादित बनेको छ । नेपालमा अनलाइन जुवा र सट्टेबाजीको विस्तारले सामाजिक र आर्थिक क्षेत्रमा गम्भीर प्रभाव पारिरहेको छ । कानुनी व्यवस्थाको अवहेलनाले यस्ता गतिविधि झन् मौलाउन थालेका छन् ।
अनलाइन जुवाको अखडा बन्दै इ–सेवा, नियामक निकाय मूकदर्शक हुँदा मौलाउँदै गैर कानुनी धन्दा !