बजारमा निरन्तर भारि गिरावटः शेयर मूल्यमा पहिरो जाँदा चिन्तित लगानीकर्ता, के नीति नै बाधक हो ?
काठमाडौँ । हालको समयमा नेपालको शेयर बजारमा भारी गिरावट देखिएको छ । पछिल्ला तीन दिनदेखि बजार लगातार ओरालो लागेको छ, जसले लगानीकर्तालाई निराश बनाएको छ । शेयर बजारमा आएको राताम्यले थुप्रै कम्पनीहरूको शेयर मूल्य घटेको छ, जसले बजारको विश्वासमा कमी ल्याएको हो ।
बजारको गिरावटको मुख्य कारण भनेको मौद्रिक नीतिको पहिलो समिक्षाले लगानीकर्ताको अपेक्षाहरूलाई सम्बोधन नगर्नु हो । यसले गर्दा लगानीकर्ताको मनोबल कमजोर भएको छ, र बजारको भविष्यप्रति अनिश्चितता बढेको छ । यस समस्यालाई नियामक निकाय र नेपाल सरकारले सम्बोधन गर्न कोशिस गरेपनि बजारमा सुधारको संकेत देखिएको छैन ।
नेपालको अर्थतन्त्रमा बलियो वृद्धि भइरहेको भए पनि शेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन। बैंकका ब्याजदरहरू निरन्तर घटिरहेका छन्, जसले लगानीका अन्य अवसरहरू खुला गरेको छ, तर शेयर बजार अझै त्यसको फाइदा लिन सकेको छैन । यसले गर्दा धेरै लगानीकर्ताहरू बजारबाट बाहिरिन थालेका छन् ।
बजारमा सुधारको लागि लगानीकर्ताको मनोबल बलियो बनाउनु अत्यन्त आवश्यक देखिन्छ। लगानीकर्ताले सरकार र नियामक निकायबाट थप स्पष्ट दिशा र विश्वासको आवश्यकता महसुस गरिरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.९३ अकंले घटेर २६८९ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.८६ प्रतिशत, विकास बैंक समूहको १.०४ प्रतिशत, फाइनान्स समूहको १.८४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको घटेको छ ।