कुमारी बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
२१ मंसिर २०८१, शुक्रबार ०६:२८
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २८ हजार ६६३ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसंस्थाले खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
बैंकले यसअघि उक्त शेयर खरीदका लागि बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई प्रस्ताव गरेको थियो। तर तोकिएको म्यादसम्म संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।
शेयर किन्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ। आवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा दिनु पर्नेछ।
साथै उक्त शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।