चार महिनामा ५ अर्ब रुपैयाँको पोलिसी सरेण्डर, कुन कम्पनीबाट कति रकम बाहिरीयो ?

२० मंसिर २०८१, बिहीबार १७:०५

काठमाडौँ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म करिव पाँच अर्ब रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुबाट चार अर्ब २ करोड ९७ लाख रुपैयाँ बराबरका पोलिसी सरेण्डर भएका छन् । यस अवधिमा ३५ हजार ९५ जनाले उक्त रकम बराबरका पोलिसी सरेण्डर गरेका हुन् ।

नेपाल सरकारले सही तरिकाले बीमा सम्बन्धि जनचेतना फैलाउन र बीमा अभिकर्ताहरुले बीमितहरुलाई सम्झाउन नसकेको अवस्थामा बीमितहरुले पोलिसी सरेण्डर गर्ने गरेका छन् ।

चार महिनाको अवधिमा एलआइसी नेपालबाट सबैभन्दा बढी बीमितहरुले पोलिसी सरेण्डर गरेका छन् । कम्पनीबाट १० हजार ४८ वटा पोलिसी वापत एक अर्ब ५७ करोड रुपैयाँ सरेण्डर भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सबाट एक अर्ब ३७ करोड रुपैयाँ बराबरका ८ हजार ४०८ वटा पोलिसी सरेण्डर भएका छन् । पोलिसी सरेण्डरमा नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीबाट ३७ करोड ४१ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सबाट २९ करोड ३१ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सबाट २७ करोड ९६ लाख रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट २३ करोड ११ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।

हिमालयन लाइफबाट २२ करोड ७४ लाख रुपैयाँ, मेट लाइफबाट १३ करोड ५३ लाख रुपैयाँ, सानिमा रिलायन्सबाट नौ करोड ३१ लाख रुपैयाँ, आइएमई लाइफबाट छ करोड ५२ लाख रुपैयाँ र सिटिजन लाइफबाट ६ करोड ५४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।

यस अवधिमा प्रभु महालक्ष्मी लाइफबाट पाँच करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपालबाट तीन करोड ६३ लाख रुपैयाँ र सन नेपालबाट दुई करोड २९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ ।

कुन कम्पनीबाट कति रकम बाहिरीयो ?

स्रोत : नेपाल बीमा प्राधिकरण

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*