खस्किँदो म्युचुअल फण्डको वित्तीय अवस्थाः ३१ फण्डले घटाए शेयर बजार लगानी, नाफा र न्याभ कस्को कति?

२० मंसिर २०८१, बिहीबार १४:०९

काठमाडौँ । पछिल्लो समय म्युचुअल फण्डको वित्तीय अवस्था घट्दो क्रममा रहेको छ । हाल संचालनमा रहेका सूचीकृत ४३ वटा म्युचुअल फण्डहरुले प्रकाशन गरेको गत कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार नाफा, न्याभ र शेयरमा गरिने लगानी पनि घटाएका छन् ।

असोजको तुलनामा कात्तिकमा फण्डको नाफा ६.८४ प्र्रतिशतले घटेर ६ अर्ब २ करोड ८२ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । यता, न्याभ पनि ०.०२ रुपैयाँ र शेयर बजार लगानी समेत २.८७ प्रतिशत घटेको हो ।

पछिल्लो समय शेयर बजारले गति लिन सकेको छैन । बजार निरन्तर खुम्चि रहेको छ भने लगानीकर्ताको मनोबल समेत कमजोर भइरहेको छ । जसको प्रत्यक्ष असर म्युचुअल फण्डमा परेको देखिएको छ ।

फन्डहरूको नाफामा गिरावट

कात्तिक महिनामा म्युचुअल फन्डहरूको औसत नाफा ६.८४ प्रतिशतले कमी आएको छ। असोजमा फन्डहरूले ६ करोड ४७ लाख रुपैयाँभन्दा बढी नाफा कमाएका थिए, तर कात्तिकमा यो घटेर ६ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । यो गिरावटले फन्डहरूको वित्तीय प्रदर्शनमा चुनौतीहरू देखाएको छ ।

एनआइबिएल समृद्धि फण्ड–२ ले कात्तिकमा १२ करोड ६२ लाख रुपैयाँको ठूलो नोक्सानी बेहोरेको छ । कात्तिकमा केवल १५ वटा फन्डले मात्र आफ्नो नाफा बढाउन सफल भएका छन् । तीमध्ये ग्लोबल आइएमई ब्यालेन्सड फन्ड–१, सिटिजन म्युचुअल फण्ड–१, प्रभू स्मार्ट फन्ड, र सिटिजन्स सुपर ३० जस्ता फण्डहरू लाभमा रहे।

कात्तिकमा २८ वटा फन्डहरूको नाफा घटेको देखिन्छ । मेगा म्युचुअल फण्ड–१, एनआइबिएल स्टेबल फण्ड, सनराइज ब्लु चिप, आरबिवि म्युचुअल फण्ड, एनआइबिएल ग्रोथ फण्ड र एनआइसी एशिया ग्रोथ फन्डजस्ता प्रमुख फण्डहरूको नाफा कम भएको हो ।

शेयर बजारमा लगानीको आकार साढे ४० अर्ब माथि

कात्तिक महिनामा अधिकांश म्युचुअल फण्डहरूले शेयर बजारमा आफ्नो लगानी घटाएका छन् । यस अवधिमा फण्डहरूको कुल लगानी ४० अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ, जुन असोजको तुलनामा २.८७ प्रतिशतले कम हो । अघिल्लो महिना अर्थात् असोजमा यो लगानी ४१ अर्ब ८५ करोड रुपैयाँ थियो ।

यसअवधिमा १२ म्युचुअल फण्ड बाहेक अन्य सबै फण्डहरुले आफ्नो लगानी घटाएको पाएको छ । एनआइसी एशिया डायनामिक डेप्ट फण्डले कात्तिकमा १८२ प्रतिशतले आफ्नो लगानी बढाउँदै ४३ लाख रुपैयाँ पुर्याएको छ । यसबाहेक, एनआइसी एशिया ग्रोथ फन्ड, सिटिजन्स म्युचुअल फन्ड–२, कुमारी सुनौलो लगानी योजना, र कुमारी सवल योजनाजस्ता फन्डले पनि लगानी विस्तार गरेका छन् ।

शेयर बजारमा सबैभन्दा धेरै लगानी गर्ने फन्ड एनआइबिएल सहभागिता फण्ड हो, जसको लगानी ३ अर्ब ६ करोड रुपैयाँ छ । यसलाई एनएमबि सरल बचत फण्डले २ अर्ब ३४ करोड रुपैयाँको लगानीसहित पछ्याएको छ । सिद्धार्थ इक्विटी लगायत १५ फण्डले १ अर्बभन्दा बढी लगानी कायम राखेका छन् ।

फण्डहरूको न्याभमा कस्तो ?

कात्तिक महिनामा म्युचुअल फण्डहरूको औसत न्याभमा गिरावट आएको छ । असोज महिनामा फण्डहरूको औसत न्याभ १६.६५ रुपैयाँ रहेको थियो, जबकि कात्तिकमा यो घटेर १६.६३ रुपैयाँमा पुग्यो ।

कात्तिक महिनामा सबैभन्दा धेरै न्याभ बढाउने फन्ड एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–दोस्रो रहेको छ, जसको न्याभ ०.९१ रुपैयाँ बढेर १३.१२ रुपैयाँ पुगेको छ । यसले अन्य फन्डहरूको तुलनामा राम्रो प्रदर्शन गरेको छ। यस महिना १० वटा फन्डहरूको न्याभ १२ रुपैयाँ भन्दा माथि रहेको छ, जसमा प्रभू स्मार्ट फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३, र ग्लोबल आइएमई ब्यालेन्सड फन्ड–१ प्रमुख छन् ।

२८ वटा फण्डहरूको न्याभ ११ रुपैयाँ भन्दा माथि पुगेको छ, जबकि चार वटाको न्याभ भने १० रुपैयाँ भन्दा माथि रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*