सागर ढकाल नेतृत्वको समूहद्वारा स्टक ब्रोकर एसोसिएसनको नेतृत्वका लागि उम्मेदवारी घोषणा
काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका लागि सागर ढकाल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ।
आज आयोजित कार्यक्रममा अध्यक्ष पदका लागि ढकाल, उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा कृष्ण गिरी तथा सदस्य पदमा जयन्त श्रीवास्तव, अतित लाल श्रेष्ठ र हरिप्रसाद वाग्लेले उम्मेदवारी घोषणा गरेका हुन्।
ढकालले कार्यक्रममा २३ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै पुँजी बजारको सुधार र विकासका लागि विभिन्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले मार्जिन ट्रेडिङ, इन्ट्रा डे, सर्ट सेलिङ, र इक्विटी डेरिभेटिभजस्ता वित्तीय औजार तथा कारोबार प्रणालीको विकासमा काम गर्ने योजना सुनाए।
उनले लगानी व्यवस्थापन सेवा, एड्भाइजरी सेवा, मार्जिन लेन्डिङ सेवा, प्रत्याभूति सेवा र योग्य संस्थागत लगानीकर्ताको रूपमा सेवा प्राप्त गर्नेसम्बन्धी आवश्यक प्रक्रियामा पहल गर्ने बताए।
ढकालले धितोपत्र दलाल व्यवसायी कम्पनीहरूले नेपाल स्टक एक्सचेञ्जसँग राख्ने बैंक ग्यारेन्टीको आधारमा कारोबार सीमा २५ गुणाबाट बढाएर ५० गुणासम्म पुर्याउन पहल गर्ने योजना पनि अघि सारे। साथै, २० करोड रुपैयाँ पुँजी भएका ब्रोकर्सले मार्जिन लेन्डिङ र लगानी व्यवस्थापन सेवा प्रदान गर्न सक्षम हुने नियमावली संशोधनका लागि काम गर्ने प्रतिबद्धता जनाए।